ओनसरि घर्ती पहिलो महिला सभामुख

  • 16 अक्टोबर 2015
तस्वीर कपीराइट bbc

एकीकृत माओवादीकी नेतृ ओनसरी घर्ती शुक्रबार भएको सभामुखको निर्वाचनमा निर्विरोध निर्वाचित भएकी छन्।

सशस्त्र द्वन्द्का बेला छापामार समेत रहेकी उनी यसअघि व्यवस्थापिका संसदको उपसभामुख रहेकी थिइन्।

प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले समेत उनको उम्मेदवारीको समर्थन गरेको छ।

त्यस्तै उपसभामुख पदमा राप्रपा नेपालका गंगा यादव निर्विरोध निर्वाचित भएका छन्।

सहमति

प्रधानमन्त्री निर्वाचनका बेला मतदान प्रक्रियामै पुगेका दलहरुले शुक्रबार सभामुखको निर्वाचनमा भने फेरि सहमतिको बाटोलाई समातेका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो उम्मेदवारी नै दिएन भने उम्मेदवारी दिएको नेपाल मजदुर किसान पार्टीले फिर्ता लिएपछि एकीकृत माओवादीकी सभासद ओनसरि घर्ती निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो।

तस्वीर कपीराइट bbc
Image caption सभामुखको पदमा निर्वाचित भएकी घर्ती विगतमा छापामार रहेकी थिइन्

जेष्ठताका आधारमा सभाको अध्यक्षता गरेका सभासद लक्ष्मण राजवंशीले उनको निर्वाचनको घोषणा गरे।

छापामार

तात्कालीन नेकपा माओवादीले सशस्त्र द्वन्द्वको थालनी गर्दै पहिलोपटक रोल्पाको होलेरी प्रहरी चौकीमा हमला गर्दा सहभागी भएका दुईजना महिला लडाकू मध्येकि उनी एक थिइन्।

रोल्पाको जंकोट गाविसमा जन्मिएकी घर्ती दुई वटै संविधान सभामा सदस्य रहेकी थिइन्।

युवा तथा खेलकुद मन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेकी घर्ती एकीकृत माओवादीका सचिव वर्षमान पुनकी श्रीमती हुन्।

प्रधानमन्त्री पद देखि प्रतिष्पर्धाको राजनीति अंगाल्ने भन्दै सभामुखको निर्वाचनमा पनि उम्मेदवारी दिने निर्णय गरेको नेपाली काँग्रेसले अन्तत: घर्तीको उम्मेदवारीप्रति समर्थन जनायो। सत्ताधारी दलहरुले बनाएको संयन्त्रको संयोजक प्रचण्डले पत्र पठाएपछि भएको दुई दलबीच छलफलपश्चात कांग्रेसले उक्त निर्णय लिएको थियो।

निर्वाचन प्रक्रियाका क्रममा संसदमा बोल्दै काँग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, "‌ओनसरि घर्तीको उम्मेदवारीलाई समर्थन गरिदिन हाम्रो पार्टीलाई लेखेर पठाइएकाले हाम्रो पार्टी उहाँलाई समर्थन गर्छ।''

जिज्ञासा

त्यस्तै उपसभामुख पदमा राप्रपा नेपालका उम्मेदवार गंगा यादव निर्विरोध निर्वाचित भएका छन्।

उक्त पदमा उम्मेदवारी दिएका नेपाल मजदुर किसान पार्टीका डिल्ली प्रसाद काफ्लेले नाम फिर्ता लिएपछि उनी निर्विरोध निर्वाचित भएको संसद सचिवालयले जनाएको छ।

दलहरुका बीचमा शुक्रबारको निर्वाचनका बेला देखिएको सहकार्य अब हुने राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा बेला कसरी प्रकट होला र ती पद चाहीं कुन पार्टीको पोल्टामा पर्ला भन्ने जिज्ञासा बढेको छ।

यसअघि प्रधानमन्त्रीको चुनावमा भाग लिएका आन्दोलनरत तराईकेन्द्रित दलहरु चाहीं सत्ताको खेलबाट टाढा रहने भन्दै शुक्रबारको निर्वाचन प्रक्रियामा अनुपस्थित रहे।