एङ्गेला मर्केल टर्कीमा

  • 18 अक्टोबर 2015
शरणार्थीहरु तस्वीर कपीराइट AP
Image caption जाडो याम शुरु भएपछि टर्की हुँदै युरोप जान खोज्ने शरणार्थीहरुको संख्या अरु बढन सक्ने अनुमान गरिएको छ

युरोपले व्यहोरिरहेको आप्रवासी संकटबारे छलफल गर्न जर्मन चान्सलर एङ्गेला मर्केल टर्की पुगेकी छिन्।

उनले टर्कीका प्रधानमन्त्रीसंग वार्ता गरेकी छिन्।

उनी युरोपेली संघ आइरहेका आप्रवासीहरुको ठूलो संख्या रोक्न टर्कीको थप सहयोग चाहन्छिन्।

त्यसको बदला युरोपेली संघका नेताहरुले टर्कीलाई आर्थिक सहयोग र टर्कीका नागरिकहरुलाई भीसा विना नै युरोपको भ्रमण गर्न पाउने सहुलियत दिने प्रस्ताव गरेका छन्।

जाडो याम शुरु भएपछि अरु ठूलो संख्यामा टर्की हुँदै सिरियाली तथा अन्य मुलुकका शरणार्थीहरु युरोप आउन सक्ने आशंकाका माझ युरोपेली संघले टर्कीको सहयोग खोजी रहेको छ।

टर्कीमा मात्रै सिरियाली शरणार्थीहरुको संख्या बीस देखि तीस लाख रहेको अनुमान गरिएको छ।

शरणार्थी

त्यहाँ मानव तस्करहरु सकृय रहेको र शरणार्थी शिविरहरुको स्थिति राम्रो नरहेकाले पनि कैयौं शरणार्थीहरु छोटो तर जोखिमपूर्ण सामुद्रिक यात्रा गर्दै युरोपेली मुलुक ग्रीस जान खोजेको बताइन्छ।

युरोपेली संघले यदि टर्कीले युरोप आउन खोज्ने आप्रवासी तथा शरणार्थीहरुको संख्यालाई सीमित गर्न सघाएमा टर्कीका नागरिकहरुलाई सजीलैसंग युरोप आउन दिइने एउटा कार्ययोजना ल्याएको छ।

उसले युरोपेली संघको सदस्य बन्न टर्कीले दिएको आवेदनमाथि पनि प्राथमिकताकासाथ कुराकानी अघि बढाइने जनाएको छ।

यद्यपि टर्कीका विदेश मन्त्री फेरिदुन सिनिर्लियोग्लुले भने, युरोपेली संघको योजना एउटा प्रस्ताव मात्रै हो र यसबारे कुनै संझौता भैसकेको छैन।

चान्सलर मर्केलले यो वर्ष जर्मनीले अधिकांश सिरियाली सहित झण्डै आठ लाख शरणार्थी सहित आफ्नो देशमा पुनर्वास गराउने बताएकी छिन्।

तर सो संख्या दश वा पन्ध्रलाख सम्म पुग्न सक्ने अनुमान गरिएको छ।

संवेदनशील

आप्रवसनको विषय जर्मनीमा निकै संवेदनशील बन्न पुगेको छ र यसले गर्दा मर्केलको लोकप्रियता पनि खस्कँदै गएको देखिएको छ।

बर्लिनस्थित बीबीसीका संवाददाता भन्छन्, मर्केल एउटा गम्भीर स्थितिमा छिन्।

एकातिर उनले युरोपेली संघको सदस्यता पाउन टर्कीले गरिरहेको प्रयासको विरोध गरीरहेकी छिन् भने अर्कोतिर आप्रवासीको चाप रोक्न टर्कीको तत्काल सहयोगको पनि खाँचो छ।

उनीमाथि टर्कीमा मानव अधिकार उल्लंघनलाई ध्यान नदिएको भन्ने आरोप पनि लाग्ने गरेको छ।

हाम्री युरोप संपादक काट्या एडलर भन्छिन, टर्की एक्लैले आप्रवासी संकट समाधान गर्नसक्छ भन्ने सोच्नु युरोपको केटाकेटी सोचाइ हुनेछ।

उनी भन्छिन्, सिरियामा जारी भीषण गृहयुद्ध बाट ज्यान जोगाउन ठूलो संख्यामा शरणार्थीहरु देश छाडने क्रम जारी नै छ र उनीहरु सुरक्षित भविष्यकालागि युरोप नै सर्वोत्तम विकल्प रहेको ठान्दछन्।