सयौं आप्रवासी क्रोएसियाबाट स्लोभेनिया प्रवेश

  • 18 अक्टोबर 2015
तस्वीर कपीराइट AP
Image caption अधिकारीहरुले स्लोभेनियाले दैनिक २५ सय ‍आप्रवासीहरुलाई मात्र लिन सक्ने बताएका छन्

हंगेरीले आफ्ना सीमाहरु बन्द गरेपछि सयौं आप्रवासीहरु क्रोएसियाबाट स्लोभेनिया प्रवेश गरिरहेका छन्।

शनिबार करिब २७ सय आप्रवासीहरु स्लोभेनिया पुगेका छन् र स्थानीय समयअनुसार रातभरिमा थप मानिसहरु पुग्ने अपेक्षा गरिएको छ।

त्यहाँ पुग्ने अधिकांश आप्रवासीहरु अष्ट्रिया, जर्मनी र अन्य मुलुकहरु जान खोज्छन्।

शरणार्थीहरुका निम्ति स्लोभेनियाले शिविरहरु खडा गरेको छ र प्रधानमन्त्री मिरो सेरारले उनीहरुको स्थानान्तरण सुरक्षित, सहज र व्यवस्थित हुनुपर्ने चाहेको बताएका छन्।

प्रयास

उनले भने, “स्लोभेनिया युद्धको अवस्थामा छैन्, हामीले स्थितिलाई सामान्य राखिराख्न हरसंभव प्रयास गरिरहेका छौँ, हामीले सीमामा आवश्यक व्यवस्था मिलाउने प्रयास गर्नेछौँ ताकि अरु मुलुकलाई असर नपरोस्।”

आप्रवासीहरुको भीड नियन्त्रणबारेको एउटा योजनामा युरोपेली नेताहरु सहमत नभएपछि शुक्रबार मध्यरातदेखि आफ्नो सीमा बन्द गर्नुपरेको हंगेरीले बताएको छ।

यसअघि हंगेरीले गत महिना सर्बियासँगको आफ्नो सीमा बन्द गरेको थियो, जुन आप्रवासीहरुका निम्ति पश्चिमी युरोप पुग्ने अर्को ट्रान्जिट रुट थियो।

शनिबार सयौं शरणार्थीहरु चढेका बसहरु स्लोभेनियासँग सीमा जोडिएका सर्बियाली नाकाबाट क्रोएसिया प्रवेश गरेका थिए।

उनीहरुमध्ये धेरैले क्रोएसियाको सीमामा पुग्न कयौं हप्ता लगाएर ग्रीस, म्यासिडोनिया र सर्बियाको बाटो तय गरेका थिए।

व्यवस्था

स्लोभेनियाका अधिकारीहरुले उनीहरुको नाम दर्ता गरेपछि अष्ट्रियाली सीमासम्म पुर्याउने व्यवस्था मिलाएका थिए।

स्लोभेनियाको सरकारी समाचार संस्था एसटीएका अनुसार उनीहरुमध्ये कतिपय आप्रवासीहरु पहिल्यै आएर नाम दर्ता गराउन शुरु गरिसकेका थिए।

संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोग युएनएचसीआरकी एकजना प्रवक्ताले ती आप्रवासीहरुमध्ये अधिकांश सिरिया, इराक र अफगानिस्तानका भएको बताइन्।

समाचार संस्था एएफपीलाई उनले भनिन्, “उनीहरु युद्धबाट भागिरहेका छन्, वास्तवमा उनीहरु आफ्नो जिन्दगीबाट भागिरहेका छन्।”