आपूर्ती सहज बनाउने भारतीय आश्वासन: थापा

  • 19 अक्टोबर 2015
तस्वीर कपीराइट Reuters
Image caption तराईका असन्तुष्ट पक्षसँग वार्ता गर्नका लागि सरकारले सोमबार वार्ता समिति गठन गरेको छ

भारतको तीन दिने भ्रमणबाट फर्कने क्रममा विमानस्थलमा पत्रकारहरुसँग बोल्दै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नाकामा अड्किएका ट्यांकर ट्रकहरुलाई अन्य नाकामा लैजान सहज बनाउने प्रतिवद्धता भारतीय उच्च अधिकारीहरुले दिएको बताएका छन्।

सीमा नाकामा अवरोध गरिरहेका असन्तुष्ट तराई केन्द्रित दलका माग सम्बोधन गरेर लैजान पनि भारतीय पक्षले सुझाव दिएको थापाले बताए।

भारतले यसअघिको सरकारका आपूर्ती मन्त्रीलाई पनि यस्तै प्रकारको आश्वासन दिएको भएता पनि सीमाको अवरोध खुल्न सकेको छैन।

संकेत

लामो समयदेखि भारतबाट इन्धन लगायत अत्यावश्यकीय सामानहरु आपुर्ती नभइरहेका बेला त्यसबारे भारतीय पक्षसँग छलफल गरेर अवस्था सामान्य बनाउने उद्देश्यका साथ भारत पुगेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराज र त्यहाँका उच्च अधिकारीलाई भेटेका थिए।

उक्त भेटघाट नेपालले भोगिरहेको आपुर्ति संकट समाधानमा सहयोगी हुनेमा आफू आशावादी भएको थापाले थापाले दोहोर्याएर बताए।

तर नेपालको बीरगञ्ज रक्सौल सीमा नाका अवरोधबारे भने भारतीय पक्षले पनि खुलिहाल्ने संकेत नदिएको उनको भनाइमा झल्कन्थ्यो।

सीमा नाकाको अवरोधबारे भारतले दिएको प्रतिक्रिया सुनाउँदै उनले भने, "कुनै एक नाकामा अवरुद्ध भएर रहेका ट्यांकर, ट्रक र बुलेटलाई रिरुटिंग गरेर अन्य नाकामा लैजान पनि सहजिकरण गर्ने विश्वास दिलाउनुभएको छ।"

पत्रकारहरुसँगको भेटघाटमा नाकाबन्दी भन्ने शब्द प्रयोग नगरेका थापाले अवरोध नभएका सीमा नाका नजिकका डिपोबाट इन्धन पठाउन भारतीय पक्षले सहयोग गर्ने प्रतिवद्धता जनाएको बताए।

लक्षण

तर यसअघि पनि नाकासम्म त सामानहरु आएकै थियो, त्यहाँबाट भित्रिनै समस्या भएको हो अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उपप्रधानमन्त्री थापाले भने, "उपलब्ध रहेका नाकाहरुबाट आवश्यक परिमाणमा सामानहरु लैजान सक्नुहुन्छ भनेर प्रष्ट भनिसकेपछि अब सामान ल्याउने चुनौती त हाम्रो पनि हो नि।"

परराष्ट्रमन्त्रीको त्यस्तो प्रतिक्रियालाई कतिपयले भने नाका अवरोध हटाउने जुन उद्देश्यले उनी भारत भ्रमण गएका थिए, त्यो फलदायी हुन नसकेको रुपमा अर्थ्याएका छन्।

तराई केन्द्रीत असन्तुष्ट पक्षले खासगरि मुख्य नाका रक्सौललाई नै आफ्नो अवरोधको मुख्य स्थल बनाइरहेको बेला आपूर्ती अभावले चाडबाडको बेला सामान्य जनजीवन सहज बनिहाल्ने लक्षण देखिएको छैन।