प्रेमिका हत्याका अभियुक्त जेलमुक्त, घरमै नजरबन्द

  • 20 अक्टोबर 2015
तस्वीर कपीराइट Getty
Image caption पिस्टोरियसले आफ्नो घरभित्र कोही घुसपैठ गरेको ठानेर गोली चलाएको बयान दिएका थिए

आफ्नी प्रेमिकाको हत्या अभियोगमा एक वर्ष जेल जीवन बिताएपछि दक्षिण अफ्रिकी प्यारालम्पिक धावक ओस्कर पिस्टोरियस रिहा गरिएका छन्।

दुबै खुट्टा नभएका ओस्करले आफ्नो घरको बाथरुमको ढोकाबाहिरबाट हानेको गोली लागेर गत वर्ष भ्यालेन्टाइन्स दिवसमा उनकी प्रेमिका रीभा स्टिएनक्याम्पको मृत्यु भएको थियो।

आफ्नो गोली प्रहारबाट प्रेमिकाको मृत्यु भएको स्वीकार गरेका उनले आफ्नो घरभित्र कोही घुसपैठ गरेको भन्ने ठानेर गोली चलाएको बयान दिएका थिए।

मनसायपूर्ण-हत्या अभियोगमा सफाई दिँदै उनलाई भवितव्य-हत्या अभियोगमा दोषी ठहर्याइएको थियो।

नजरबन्द

जेलबाट मुक्त गरिएपछि संचार माध्यमको ध्यान छल्न उनलाई अँध्यारोका बेला जेलभन्दा २० मिनेट टाढा रहेको उनको काकाको घरमा लगिएको थियो।

अब त्यहाँ उनले नजरबन्दमा चार वर्ष बिताउने छन्।

उनलाई सजाय सुनाईँदा नै त्यस खालको शर्त सहितको सजाय दिइने कुरा प्रष्ट नै थियो।

तस्वीर कपीराइट EPA

नजरबन्दका क्रममा विद्युतीय साधानमार्फत उनको गतिविधिको निगरानी नगरिने तर उनलाई आवागमनमा रोक लगाइने बताइएको छ।

उनलाई बन्दुक साथमा राख्न दिइने छैन भने नियमित रुपमा उनको मनोवैज्ञानिक जाँच पनि गरिने छ।

पिस्टोरियसका नजिकका पारिवारिक मित्रहरुले उनको शारीरिक अवस्था कमजोर रहेको र सम्भवत: उनी फेरि खेलमा फर्किन नसक्ने बताए।

कमजोर

उनले सन् २०१२ मा लण्डनमा आयोजित ओलम्पिक र प्यारालम्पिक खेलमा आफ्नो सफलताले विश्वको ध्यान तानेका थिए।

तस्वीर कपीराइट REUTERS
Image caption दुबै खुट्टा नभएका पिस्टोरियसले लण्डन ओलम्पिक्समा विश्वको ध्यान तानेका थिए

एक वर्षपछि प्रेमिका हत्या अभियोगपछि पनि निकै चर्चामा रहे।

उनी विरुद्धको मुद्दाको सुनुवाईको विश्वभरका प्रमुख संचार माध्यमले प्रत्यक्ष प्रशारण गरेका थिए।

तर तल्लो अदालतको ठहरलाई नियतवश गरिएको हत्यामा रुपान्तरित गरिनु पर्ने सरकारी अभियोजनकर्ताको मागबारे सर्वोच्च अदालतमा नोभेम्बर ३ तारिखमा सुनुवाई हुँदैछ।

उक्त माग अदालतले स्वीकार गरेमा ती चर्चित धावक लामो कैद सजाय भोग्न फेरि जेल जानु पर्नेछ।