फ्रान्सको सडक दुर्घटनामा ४२ को मृत्यु

  • 23 अक्टोबर 2015
तस्वीर कपीराइट AFP

फ्रान्सको बोर्दोको पूर्वतिर रहेको जिरोंद क्षेत्रको दक्षिणपश्चिमस्थित लिबोर्न शहरमा भएको सडक दुर्घटनामा परी ४१ यात्रु तथा ट्रक ड्राइभरको ज्यान गएको छ।

अवकाश प्राप्त ज्येष्ठ नागरिकहरुलाई दिनभरको भ्रमणका निम्ति बोकेर लगिरहेको एक बस, ट्रकसंग जुधेपछि दुवै गाडीमा आगलागी भएको थियो।

सहायता

उक्त घटनालाई त्रासदीपूर्ण भन्दै फ्रान्सका राष्ट्रपति फ्राँस्वाँ ओलान्दले सहायताका निम्ति सरकारले सबै उपलब्ध स्रोत परिचालन गरिरहेको बताए।

सन् १९८२ मा ५२ जना ज्यान जाने गरी भएको दुर्घटना यता यो नै फ्रान्सको सबभन्दा खराब सडक दुर्घटना हो।

स्थान‌ीय समय बिहानको साढे सात बजेतिर सो बस र काठ ओसार्ने ट्रक जुधेका थिए।

स्थानीय वासिन्दाहरुका अनुसार एउटा खतरनाक मानिने मोडमा सो घटना भएको थियो।

त्यसपछि दुबै गाडीमा तुरुन्तै आगो लागेको थियो।

गम्भीर

घटनास्थल पुगेका प्रधानमन्त्री म्यानुएल भाल्सले आठ जना बाँचेको अनि तीमध्ये चार जना गम्भीर हालतमा रहेका बताए।

अधिकारीहरुका अनुसार बस ड्राइभर बाँचेका छन् भने ट्रक ड्राइभर मारिएका छन्।

बसमा सवार अधिकांश यात्रु एउटा सानो शहर पटी पाले कोर्ना का ज्येष्ठ नागरिक संघका सदस्यहरु थिए।

उनीहरु दिनभरको भ्रमणमा निस्कीएका थिए।

सो शहरका काउन्सीलरले घटनाले त्यहाँका वासिन्दाहरु मर्माहत भएको बताए।

दुर्घटनाको यकीन कारण अझै थाहा हुन सकेको छैन।