मालदिभ्सका उपराष्ट्रपति पक्राउ

  • 24 अक्टोबर 2015
तस्वीर कपीराइट AFP
Image caption अधिव विस्फोटनमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्

माल्दिभ्सको प्रहरीले उपराष्ट्रपति अहमद अधिवलाई पक्राउ गरिएपछि हिंसा भड्कन नदिन राजधानी मालेमा थप फौज तैनाथ गरिएको जनाएको छ।

राष्ट्रपति अबदुल्लाह यामीनको हत्या गर्ने षड्यन्त्र गरेको आरोपमा उपराष्ट्रपतिलाई शनिवार पक्राउ गरिएको हो।

उपराष्ट्रपति अहमद अधिव हिरासतमा रहेको र उनलाई राज्यविरुद्ध षड्यन्त्र गरेको अभियोग लगाइएको गृहमन्त्री उमर नसिरले सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिए।

गत साता विमानस्थलबाट घर फर्किने क्रममा राष्ट्रपति अबदुल्ला यामीनले प्रयोग गरेको डुंगालाई लक्षित गरेर विस्फोट हुंदा राष्ट्रपति जोगिन सफल भए पनि उनकी श्रीमती र अन्य केही घाइते भएका थिए।

बर्खास्त

त्यसबेला राष्ट्रपति साउदी अरेबियामा हज यात्रा सकेर फर्कँदे थिए।

त्यसलगत्तै उक्त घटनामा उपराष्ट्रपति अधिव संलग्न रहेको आशंका व्यक्त गरिएको थियो।

मालदिभ्सको संविधान अनुसार राष्ट्रपतिको मृत्यु भए वा असक्षम घोषित गरिए उपराष्ट्रपतिले उनको स्थान लिन पाउंछन्।

अधिकारीहरुले राष्ट्रपतिमाथि भएको आक्रमणलाई हत्याको षड्यन्त्रको रुपमा व्याख्या गरेका छन्।

यही मामिलामा दुई जना उच्चप्रहरी अधिकारीलाई पनि पक्राउ गरिएको छ।

त्यसअघि रक्षामन्त्रीलाई राष्ट्रपतिले बर्खास्त गरिदिएका थिए।

औपचारिक विदेश भ्रमण सकेर स्वदेश फर्किएका अधिवलाई पनि शनिबार विमास्थलबाटै पक्राउ गरिएको हो।

सुरक्षा व्यवस्था

अधिवले भने विस्फोटनमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्।

निवर्तमान उपराष्ट्रपतिलाई राष्ट्रपति यामीनले राज्यविरुद्धको षड्यन्त्रकै अभियोगमा हटाएपछि अधिवले तीन महिनाअघिमात्रै पद सम्हालेका थिए।

अधिवसंगै अन्य तीन जनालाई पनि पक्राउ गरिएको विवरणहरुमा जनाइएको छ।

ती गिरफ्तारीसंगै राजधानी मालेमा सुरक्षा व्यवस्था कडा तुल्याइएको छ।

प्रहरी र सैनिकले भरिएका गाडीहरु सडकहरुमा देखिएका छन्।

पछिल्ला केही वर्ष मालदिभ्समा आन्तरिक राजनीतिक झगडा चर्कदैं गएको छ।