दलहरु आन्तरिक छलफलमा व्यस्त

  • 24 अक्टोबर 2015
Image caption नयाँ राष्ट्रपति चयन नहुँदासम्म पुरानै राष्ट्रपति बहाल रहने संवैधानिक प्रावधान छ

संसदले सहमतिमा राष्ट्रपति चयनका लागि समय छुट्याएसँगै राष्ट्रपतिका आकांक्षी प्रमुख दलहरु उम्मेद्वारका विषयमा पार्टीभित्र सघन रुपमा छलफलमा जुटेका छन्।

शनिबार व्यवस्थापिका संसदले सहमतिमा राष्ट्रपति चयनका लागि दलहरुलाई आइतबार साढे ४ बजेसम्मको लागि समय छुट्याएसँगै खासगरी नेपाली कांग्रेस र नेकपा एमाले आ-आफ्नो पदाधिकारी बैठकमा जुटेका हुन्।

नेपाली कांग्रेसले उम्मेद्वार चयन नगरी सके पनि आफ्नो तर्फबाट राष्ट्रपतिमा उम्मेद्वारी दिने निर्णय गरेको छ भने नेकपा एमालेकै सोही विषयमा छलफल गर्न बैठक बसिरहेको नेताहरुले बताएका छन्।

चुनावी प्रक्रिया

संविधानको संक्रमणकालिन प्रावधानमा संसद अधिवेशन शुरु भएको १ महिनाभित्र राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनाव हुनुपर्ने व्यवस्था छ।

संविधानको धारा २९७ को उक्त व्यवस्था अनुसार शनिबार बसेको व्यवस्थापिका संसदको बैठकले पहिला सहमतिमा र त्यो नभए बहुमतका आधारमा राष्ट्रपति तथा उपराष्ट्रपति चयन गर्न समय तोकेको छ।

सभामुख ओनसारी घर्तीले भनिन्, "आइतबार ४:३० बजेसम्म सहमतिको लागि समय दिएका छौं। यदि सहमतिमा हुनसकेन भने कात्तिक ११ गते ११ बजेको लागि बहुमतीय प्रक्रियाको घोषणा गरेका छौं।"

संसदले यसरी समय छुट्याएपछि शनिबार नै कांग्रेस र एमालेले राष्ट्रपतिको उम्मेद्वारकै विषयमा छलफल गर्न पार्टीभित्र आ-आफ्नै बैठकसमेत राखेका थिए।

मौका

शनिबार साँझ बसेको कांग्रेसको पदाधिकारी बैठकले राष्ट्रपतिमा उम्मेद्वारी दिने निर्णय गर्दै सत्ताधारीलगायत अन्य दलहरुसँग छलफल गर्ने जनाएको थियो।

खासगरी पूर्व सत्तासहयात्री एमालेबाट सहयोग खोज्ने संकेत गर्दै कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले भने, "सभामुखमा उम्मेद्वार नदिएर हामीले सहमति र सहकार्यबाट अघि बढ्ने 'जेस्चर' दिएका छौं, अब सहमतिको चाहना एमालेमा छ/छैन यतिबेला सल्लाहकै क्रममा यो कुराको पनि प्रष्ट हुन्छ। त्यसपछि हामी हाम्रो उम्मेद्वार तय गर्छौं।"

तर प्रधानमन्त्री चुनावसंगै फरक कित्तामा उभिएपछि कांग्रेससंग रुष्ट बनेको एमालेले भने विगतको सहमतिबाट उ पछि हटेको भन्दै आफ्नै पार्टीबाट उम्मेद्वारलाई अघि सार्ने बताउँदै आएको छ।

यसअघि प्रधानमन्त्रीमा एमालेलाई सहयोग गरेर सत्तामा रहेको तेस्रो ठूलो दल एकीकृत माओवादीले भने कांग्रेस या एमाले जोबाट भए पनि सहमतिमै राष्ट्रपति चयनका लागि आफ्नो सहयोग रहने बताएको छ।

तर सत्तायात्रामा संगै उभिएको एमालेलाई चिढ्याएर अर्को उम्मेदवारलाई एकीकृत माओवादीले समर्थन गर्नेमा कतिपयले आशंका व्यक्त गरेका छन्।