'नेपाललाई घुँडा टेकाउन संभव छैन'

  • 25 अक्टोबर 2015
भारतीय प्रमंसंग थापा तस्वीर कपीराइट embassy of india
Image caption उपप्रमं थापाले भारतीय प्रधानमन्त्री लगायत उच्च अधिकारीहरुसंग दिल्लीमा भेटवार्ता गरेका थिए

दुई महिनाभन्दा बढी समय देखिको मधेस आन्दोलन तथा भारतबाट इन्धन लगायतका वस्तुको आपूर्तिमा अवरोध जारी नै रहँदा नवगठित सरकारका उपप्रधानमन्त्री कमल थापाले नेपाली जनता वा नेपाल राज्यलाई घुँडा टेकाउनका निम्ति कसैले प्रयास गरेको छ भने त्यो संभव नहुने बताएका छन्।

आइतबार बेलुका बीबीसी नेपाली सेवासंग कुरा गर्दै परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी संहालेका थापाले नेपाललाई कसले घुँडा टेकाउन खोजेको हो भन्ने प्रष्ट खुलाएनन्।

तर उनले दक्षिणी छिमेकीतर्फ इंगित गरेको हुनसक्ने कतिपयको अनुमान छ।

दबाब

उपप्रधानमन्त्री थापाले राजनीतिक समस्याको समाधानकालागि दबाब दिनको निमित्त यो अभाव सिर्जना गरिएको भन्ने देखापर्न थालेको पनि बताए।

तर उनले यसबारे थप खुलाएनन्।

के नेपालले चीनबाट इन्धन मगाउन लागेको हो? भन्ने बीबीसीको प्रश्नको जवाफमा उपप्रधानमन्त्री थापाले इन्धनकालागि नेपाल शतप्रतिशत भारतमै निर्भर रहेको बताए।

तर उनले भने, "भारतबाट आपू्र्तिमा अवरोध खडा भएपछि सरकारले चुप लागेर बस्ने अवस्था आउँदैन।"

नयाँ सरकार गठन भए लगत्तै भारतको भ्रमण गरेर गत साता काठमाडौं फर्केका परराष्ट्र मन्त्री थापाले गएको तीन, चार दिनभित्र भारतीय अधिकारीहरुले आश्वासन दिए अनुसारको काम भएको आफुहरुले अनुभूति गर्न नपाएको पनि बताए।

तर उनले भने, "त्यति महत्वपूर्ण र जिम्मेवार पदमा रहेका नेता र पदाधिकारीबाट व्यक्त भएका जुन प्रतिबद्धता हुन्, त्यो केवल आश्वासन मात्रै हैन, त्यो व्यवहारमा पनि परिणत हुन्छ भन्ने कुरामा म अहिले पनि आशावादी छु।"

आपूर्ति

एक अर्को प्रश्नको जवाफमा उपप्रधानमन्त्री थापाले चीनबाट इन्धन आपूर्ति गर्ने विषयमा औपचारिकरुपमा कुराकानी भैरहेको र केही दिनभित्रै त्यताबाट इन्धन आउने आशा व्यक्त गरे।

"व्यापारिकरुपमा पनि चीनबाट इन्धन आपूर्ति गर्नको निमित्त व्यापारिक टोली जाँदैछ, जसमा सरकारका प्रतिनिधिहरु पनि रहनेछन्। एक, दुई दिनमा त्यो टोली गैहाल्छ," उनले भने।

भारत सरकारले हाल नेपालमा देखिएको चरम इन्धन अभाव तराईमा आन्दोलनरत दलहरुले नेपाल भारत सीमामा गरेको अवरोधका कारण भएको जनाउँदै आएको छ।

तर नेपाली अधिकारीहरुले चाहिं आन्दोलनरत दलहरुले खासगरी वीरगन्ज नाका बन्द गरीदिएपनि अन्य नाकाहरुबाट इन्धनलगायतका सामग्री पठाउन भारतीय पक्षले ढीलाइ गर्दै आएको जनाएका छन्।