हुलाकी राजमार्ग निर्माण ‘केही महिनाभित्र’

  • 26 अक्टोबर 2015
तस्वीर कपीराइट Bikram Niraula BBC Nepali
Image caption हुलाकी राजमार्ग निर्माणपछि ग्रामीणस्तरमा उत्पादित सामान बजारसम्म पुर्याउन सहज हुने विश्वास छ

तराईको विकासमा महत्वपूर्ण ठानिएको हुलाकी राजमार्ग निर्माणको काम पुनः शुरु हुन अझै केही महिना लाग्ने अधिकारीहरुले बताएका छन्।

भारत सरकारले निर्माण गर्ने भनिएको उक्त राजमार्गको काम पाएका निर्माण कम्पनीहरुले छोडेपछि नेपाल सरकारले त्यसको जिम्मा पाएको छ।

एक हजार ४ सय किलोमिटर लामो उक्त सडकको हाल पाँच सय ५० किलोमिटर खण्डका लागगि बोलपत्र आह्वान गरी निर्माण कम्पनीको छनोट भइरहेको सडक विभागले जनाएको ‍छ।

राणाकालदेखि चिट्ठीपत्र ओसारपसार गर्न हुलाकीहरुले प्रयोग गर्ने पूर्व-पश्चिम राजमार्गको समानान्तर दक्षिणी तराईको बाटोलाई नै राजमार्गको रुपमा विकास गर्ने नेपाल सरकारले बनाएको योजनालाई चार वर्षअघि भारत सरकारले आफ्नै लगानीमा बनाइदिने भनेको थियो।

वातावरण

पहिलो चरणमा छ सय किलोमिटर सडकको निर्माणको काम सक्ने भन्दै राजमार्गलाई छ खण्डमा विभाजन गरी उसले भारतीय निर्माण कम्पनीहरुलाई कामको जिम्मा दिएको थियो।

छनोट गरिएका निर्माण कम्पनीहरुले काम गर्ने वातावरण नभएको भन्दै छोडेर हिँडेपछि उक्त सडकको जिम्मा नेपाल सरकारकै पोल्टामा आयो।

हाल भारतीय निर्माण कम्पनीले कैलाली खण्डमा भने काम गरिरहेको र त्यस बाहेक अन्य खण्डका लागि सडक विभागले बोलपत्र आह्वान गरिसकेको विभागका प्रवक्ता उमेश झाले बताए।

उनले भने, “डेढ दुई महिनाभित्र बोलपत्रको टुङगो लाग्छ, तिहारपछि त्यो काम सकिन्छ, त्यसपछि हामीहरुले निर्माण कम्पनीलाई केही पैसा दिनुपर्छ, त्यो तिरिसकेपछि माघ फागुनदेखि निर्माण काम शुरु हुन्छ।”

हुलाकी राजमार्ग निर्माणका लागी केही ठाँउमा मुआब्जा विवाद रहेको छ।

त्यस्तै चितवन राष्ट्रिय निकुञ्जमा पर्ने खण्डलाई निकुञ्ज क्षेत्रभित्रबाट निर्माण गर्न नमिल्ने भएपछि कताबाट लैजाने भन्ने टुङगो लागिनसकेको बताइएको छ।

उक्त सडकमा पर्ने पुलको निर्माणको जिम्मा भने पहिलेदेखि नै नेपाल सरकारकै रहेको थियो।

प्रक्रिया

एक सय २५ वटा पुल निर्माण गर्नुपर्ने मध्ये ५० वटाको निर्माण काम सम्पन्न भइसकेको प्रवक्ता झाले बताए।

उनले भने, “वाग्मतीको पुल, कमलाको पुलमा त्यति राम्रो काम भइरहेको छैन्, अन्य करिब ५० वटा पुल सम्पन्न भइसक्यो, अरु काम भइरहेको छ र सडक बन्दासम्म सबै पुल निर्माण भई सक्छन्।”

फागुन महिनासम्म निर्माण कम्पनीहरुले काम थाल्ने गरी कागजी प्रक्रियाका कामहरु भइरहेको भएपनि काम गर्ने बेला निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थको अभाव हुन सक्ने सडक विभागले आशंका गरेको छ।

चुरे क्षेत्रबाट कच्चा पदार्थ निकाल्ने विषय छिट्टै टुङगो लागे हुलाकी राजमार्गको निर्माणले गति लिने सरकारी भनाई छ।

हुलाकी राजमार्गको निर्माण सम्पन्न भएपछि नेपाललाई पूर्वदेखि पश्चिमसम्म जोड्ने ३ वटा राजमार्ग हुने छन्।

पहिलो पूर्व-पश्चिम राजमार्ग, दोस्रो मध्यपहाडी राजमार्ग र तेस्रो हुलाकी राजमार्ग।