भूकम्पः मृतकको संख्या ‘कम्तीमा दुई सय ६०’

  • 27 अक्टोबर 2015
तस्वीर कपीराइट AFP
Image caption भूकम्पपछि धेरै पहिरोहरु गएको तस्वीरहरु सामाजिक सञ्जालमा पोस्ट गरिएका छन्

उत्तर-पूर्वी अफगानिस्तान र पाकिस्तानमा सोमबार दिउँसो गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई सय ६० भन्दा बढी पुगेको अधिकारीहरुले बताएका छन्।

मृत्यु हुनेमा अधिकांश पाकिस्तानी छन्।

उक्त भूकम्पको धक्का नेपाल, उत्तरी भारत र ताजिकिस्तानमा पनि महसुस गरिएको थियो। मृत्यु हुनेमध्ये कम्तीमा १२ जना आफगान स्कूले छात्राहरु छन्।

भागदौडका क्रममा उनीहरुको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।

दुर्गम

अफगानिस्तानको उत्तरपूर्वमा रहेको हिन्दु-कुश पर्वत अन्तर्गतको फैजाबादभन्दा ७६ किलोमिटर दक्षिणमा केन्द्रबिन्दु रहेको उक्त भूकम्प ७ दशमलव ५ मेग्निच्युडको रहेको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ।

प्रभावित क्षेत्रहरु दुर्गम भएको र सञ्चार सम्पर्कविच्छेद भएकोले मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

पाकिस्तानको उत्तरी पहाडी क्षेत्रमा मृत्यु हुनेको संख्या कम्तीमा दुई सय १४ रहेको अधिकारीहरुले बताएका छन्।

उनीहरुका अनुसार ख्यबर पख्तुनख्वा प्रान्तमा मात्रै एक सय ७९ जनाको ज्यान गएको छ भने १८ सयभन्दा बढी मानिसहरु घाइते भएका छन्।

सहायता

विदेश भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफ आफ्नो भ्रमण छोट्याएर स्वदेश फर्किन लागेका छन्।

अफगानिस्तानको तखार प्रान्तका गभर्नरका प्रवक्ता सुन्नतुल्लाह तिमूरले भागदौडको घटनामा स्कूले छात्राहरुले ज्यान गुमाउनु बाहेक २५ जना विद्यार्थीहरु घाइते पनि भएको बताए।

अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले सहायताको खाँचो परेका मानिसहरुलाई सहयोग गर्न सहायता संस्थाहरुलाई सरकारले आग्रह गरेको ट्वीट गरेका छन्।

सामाजिक सञ्जालहरुमा पोस्ट गरिएका भिडियोहरुमा थुप्रै पहिरो गएको र घरहरु भत्किएको देखिन्छ।