नयाँ राष्ट्रपतिलाई स्वागत, पुरानालाई बिदाइ

  • 29 अक्टोबर 2015
यादव
Image caption शीतल निवास छाड्नु अघि यादवले राष्ट्रिय एकतामा जोड दिएका थिए

नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार पद तथा गोपनीयताको शपथ लिदैँ नेपालको दोस्रो राष्ट्रपतिकोरुपमा आफ्नो कार्यकाल शुरु गरेकी छन्।

शपथग्रहण समारोह लगत्तै बिहीबार नै सरकारले निवर्तमान राष्ट्रपति रामवरण यादवको औपचारिक विदाइ गरेको छ।

शीतल निवास छाड्नु अघि यादवले राष्ट्रिय एकतामा जोड दिँदै तराइमा भैरहेका आन्दोलन तत्काल सम्बोधन गर्न सरकारलाई अनुरोध गरे।

प्रधानमन्त्री केपी ओलीले सरकारको तर्फबाट यादवको विदाइ गरेका थिए।

शपथ

बिहीबार दिउँसो राष्ट्रपतिको सरकारी आवास रहेको शितल निवासमा आयोजित विशेष समारोहमा गणतन्त्र नेपालको दोस्रो राष्ट्राध्यक्षको रुपमा महिला नेतृ भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी थिइन्।

नयाँ संविधानमा भएको व्यवस्था अनुसार प्रधान न्यायाधीश कल्याण श्रेष्ठले नवनिर्वाचित राष्ट्रपतिलाई शपथ खुवाएका थिए।

शपथग्रहणसँगै राष्ट्रपति भण्डारीले नेपालको पहिलो निर्वाचित राष्ट्राध्यक्षको रुपमा आफ्नो कार्यकाल शुरु गरेकी छन्।

एकता

नयाँ राष्ट्रपतिले पदभार ग्रहण गरेकै दिन सरकारले विशेष कार्यक्रम गरी सात वर्ष तीन महिना राष्ट्रपतिको भूमिका निर्वाह गरेका निवर्तमान राष्ट्रपति यादवको विदाइ गरेको थियो।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै यादवले नेपालको सीमा भित्र बस्ने सबै नेपाली हौँ भन्ने भावना बोकेर आफू सात वर्ष अघि शितल निवासमा बसेको सुनाए।

तराच, पहाड र हिमालको एकतामा नै भावी सन्ततिको भविष्य सुनिश्चित रहने भन्दै उनले, नयाँ संविधानसँगै तराइमा देखिएको अशान्ति सम्बोधन गर्न सरकारलाई झकझक्याएका थिए।

उनले भने, “मुलुकका जुनसुकै भूभागका जुनसुकै समुदायले उठाएका आवाज र गुनासालाई संयम र सहानुभूतिपूर्वक सुन्ने र शान्तिपूर्ण उपायबाट समाधान खोज्ने संस्कार र संस्कृति शुरु गर्नका लागि विशेष आग्रह गर्दछु।”

विदाइ

उक्त कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले अन्तरिम संविधानले बाटो नदेखाएको र जननिर्वाचित संस्था विघटन भएको अप्ठेरो परिस्थितिमा पहिलो राष्ट्राध्यक्षका रुपमा यादवले खेलेको भूमिकाको प्रशंसा गरे।

नयाँ संविधानप्रति व्यक्त असन्तुष्टि वार्ता मार्फत हल गर्न सरकार प्रतिबद्ध रहेको पनि उनले बताए।

उनले भने, “अहिलेका संक्रमणकालिन जटिलताहरु समाधानको सन्दर्भमा आइपर्ने सानातिना चुनौतीहरु समाधान गरिनेमा म प्रतिबद्धता जनाउन चाहन्छु। अहिले केही कुरा असन्तुष्टिका रुपमा कतै कतै देखा परेका छन्, यस्ता कुराहरु अन्यत्र पनि संविधान जारी भएका बखत हुने गर्दछन्।”

आफ्नो विदाइका लागि आयोजित कार्यक्रम सकिएपछि बिहीबार साँझ नै निवर्तमान राष्ट्रपति यादव ललितपुरको बागडोलस्थित सरकारले उपलब्ध गराएको आवासमा सरेका छन्।