‘चीनबाट आपूर्तिले समाधान नदिने’

  • 30 अक्टोबर 2015
सीमा तस्वीर कपीराइट AP
Image caption भारतीय अधिकारीहरुले भारतले नेपालमाथि कुनै किसिमको नाकाबन्दी नगरेको दोहो-याउँदै आएका छन्

नेपालले उत्तरी छिमेकी चीनले अनुदानमा दिने इन्धन लिन ट्याकंरहरु पठाएकै दिन भारतले चीनसँग इन्धन खरिद गर्ने नेपालको निर्णयले विद्यमान आपूर्ति तथा राजनीतिक संकटको समाधान दिन नसक्ने संकेत गरेको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले नेपालको कुल आवश्यक्ता मध्ये दुई तिहाइ इन्धन वीरगंज रक्सौल नाकाबाट जाने गरेको उल्लेख गर्दै त्यहाँ भैरहेका प्रदर्शनको राजनीतिक समाधान खोजिनुपर्नेमा जोड दिए।

चीनले अनुदान स्वरुप उपलब्ध गराएको पेट्रोलको पहिलो किस्ता ल्याउन नेपाल आयल निगमले शुक्रबार केरु ङ्पठाएका १२ वटा ट्यांकरहरु रसुवागढी पुगेको अधिकारीहरुले बताएका छन्।

झन्डै डेढ लाख लिटर पेट्रोल बोकेर ती ट्यांकरहरु सोमबारसम्म काठमाण्डू फर्कीसक्ने बताइएको छ।

चासो

सीमा क्षेत्रमा देखिएको अवरोधले देशका अधिकांश भागमा चर्को इन्धन संकट निम्तिएको भन्दै सरकारले चीनबाट इन्धन खरिद गर्ने विकल्प अघि बढाएपछि भारतको पछिल्लो प्रतिक्रिया आएको हो।

चिनियाँ सरकारी कम्पनी पेट्रोचाइनाबाट इन्धन खरिद गर्ने व्यापारिक प्रकृयाअघि बढाउन दुई देशका अधिकारीहरुले बुधवार बेइजिंगमा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।

त्यसबारे सोधिएको एउटा प्रश्नको जवाफ दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले चीनबाट इन्धन खरिद गर्ने निर्णयले समाधान नदिने आशयको टिप्पणी गरेका हुन्।

उनले भने, “पेट्रोलको आपूर्ति यसकारण रोकिएको छ कि नेपालको एउटा पक्ष आफ्नो संविधानप्रति सहमत छैन, भारतबाट सामानहरु आपूर्ति हुन दिइरहेको छैन।

भारतबाट जाने शतप्रतिशत मध्ये ७० प्रतिशत इन्धन रक्सौल वीरगंज नाकाबाट जाने गर्छ। अझै खुल्न नसकेको रक्सौल वीरगंज नाकामा त्यो सम्झौताले कसरी मद्दत पु-याउँछ त्यो आगामी दिनमा हेर्नुपर्छ।”

अवरोध

नेपालमाथि भारतले कुनै किसिमको नाकाबन्दी नगरेको दोहो-याउँदै उनले अवरोध नभएका नाका मार्फत भारतीय आयल निगमले नेपालको मागको एक तिहाइ इन्धन दैनिक पठाइरहेको उल्लेख गरेका थिए।

तर नेपाली अधिकारीहरुले भारतले चाहेजति परिमाणमा इन्धन नदिएको बरु चीनसँगको समझदारीपत्रमा हस्ताक्षर भएपछि बिहीबार ८२ वटा ट्याकंरमा भारतीय पक्षले इन्धन भरिदिएको बताएका छन्।

चीनले अनुदानमा उपलब्ध गराउन लागेको पेट्रोल लिन केरुङ्ग तर्फ शुक्रबार १२ वटा ट्यांकर पठाइएको नेपाल आयल निगमका कार्यवाहक निर्देशक मुकुन्दप्रसाद घिमिरेले बताए।

“चीनले दिने भनेको १३ लाख लिटर पेट्रोल मध्ये १ लाख ४४ हजार लिटर लिन १२ हजार लिटर क्षमताका १२ वटा ट्यांकर केरुङ् पठाएका छौँ।

पहिलो चरणका ट्याकंर फर्किएपछि मात्र कति दिनमा ती सबै इन्धन ल्याउन सकिन्छ भन्न सकिन्छ, केरुङमा डिपो नभएकाले एउटा ट्याकंरबाट अर्कोमा सार्नुपर्ने खालको अवस्था छ,” घिमिरेले भने।

आयल निगमले चीनले नेपाललाई अनुदानमा उपलब्ध गराएको पेट्रोल सामान्य अवस्थामा ३ दिनमा खपत हुने भन्दै पहिलो चरणमा पेट्रोल लिन गएका ट्याकंरहरु ढीलामा सोमबारसम्म काठमाण्डू फर्किने जनाएको छ।