'तेल ल्याउन थप ट्याङ्कर चीनतर्फ'

  • 1 नोभेम्बर 2015
तस्वीर कपीराइट AP
Image caption भारतबाट इन्धन आपूर्ति न्यून हुँदा पेट्रोलियम पदार्थको हाहाकार भएको छ

चीन सरकारले अनुदानमा दिन लागेको पेट्रोलियम पदार्थ लिन शनिबार तीनवटा मात्रै ट्याङ्कर चीनको सीमाक्षेत्र पुगे पनि आजदेखि त्यसको संख्या बढ्ने अधिकारीहरुले बताएका छन्।

तर भारतबाट निकै कम इन्धन आपूर्ति भइरहेका बेला चीनसँगको पछिल्लो समझदारीले धेरैलाई आश जगाए पनि ३ वटामात्रै ट्यांकरमा केरुङ पुगेका थिए।

थप इन्धन लिन रसुवागढीमा रहेका बाँकी ९ वटा ट्याङकर आज पेट्रोल लिन केरुङ जाने बताइएको छ।

अधिकारीहरुका अनुसार पहिलो चरणमा केरुङ् पुगेका तीनवटा ट्यांकर आजै तेल लिएर राजधानी आइपुग्ने छन्।

किन्ने योजना

चीनले अनुदानमा १ हजार मेट्रिक टन इन्धन दिने घोषणा गरेको छ।

चीनले विभिन्न चरणमा केरुङसम्म दैनिक निश्चित परिमाणमा इन्धन पुर्याउने र सोही दिन त्यो सबै नेपाल भित्र्याउने योजना रहेको वाणिज्य तथा आपूर्ति मन्त्रीले बताए।

बाणिज्य तथा आपूर्तिमन्त्रीका अनुसार चीनबाट अनुदानको र त्यसपछि किनेर पेट्रोलियम पदार्थ ल्याइएपछि इन्धन वितरण खुकुलो हुनेछ।

बाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले भने "अहिले केरुङमा १ सय मेट्रिक टन इन्धन पुगेको छ, त्यसलाई निरन्तर ल्याउने काम हुन्छ।"

उनका अनुसार अनुदानसँगै चीनबाट किनेर ल्याउने भनिएको पेट्रोलियम पदार्थ कसरी र कुन नाकाबाट ल्याउने भन्ने बारे पनि छलफल अगाडि बढाइने छ।

कहिलेसम्म अभाव?

मन्त्री पुनले भने "सामान्यतया चिनियाँ पक्षले केरुङसम्म इन्धन पुर्याउने स्थिति बन्छ होला, यदी त्यसो भएन भने हामीले तातोपानी नाकालाई पनि विकल्प मानेका छौं। जुन अलि फराकिलो पनि छ, दुबै नाका प्रयोग गर्ने पर्ने स्थिति आउन सक्छ।"

चीनबाट भित्रिने सबै पेट्रोलियम पदार्थ पहिले राजधानी काठमाण्डूमै ल्याइने बताइएको छ।

दशैं यता भारतबाट आउने पेट्रोलियम पदार्थको परिमाणमा पनि केही बृद्धि भएको र चीनबाट समेत योजना अनुसार नै इन्धन भित्रिए हाल कायम रहेको चरम संकट केही सम्बोधन गर्न सकिने मन्त्री पुनको विश्वास छ।

तर सबैभन्दा बढी परिमाणमा इन्धन भित्रिने वीरगञ्ज नाकामा आपूर्ति सहज नभएसम्म इन्धन संकट पूर्ण रुपमा नटर्ने अधिकारीहरु बताउँछन्।