मोदीद्वारा वीरगञ्ज घटनाको विवरण माग

  • 2 नोभेम्बर 2015
modi तस्वीर कपीराइट epa
Image caption भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन वार्तामा वीरगञ्ज घटनाबाट आफू स्तब्ध भएको बताएको जनाइएको छ

वीरगञ्जमा सोमबार भएको घटनाप्रति गहिरो चिन्ता जनाउंदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाको विवरण मागेका छन्।

नेपाली समकक्षी केपी ओलीलाई टेलिफोन गरी मोदीले त्यस्तो विवरणका लागि अनुरोध गरेको उनको कार्यालयले ट्वीटरमा जनाएको छ।

चासो

मोदीले भारतीय राज्य विहारका एक जना युवकको नेपाली प्रहरीको गोली लागि ज्यान गएको घटनालाई दुर्भाग्यपूर्ण भएको बताएका छन्।

भारतीय पक्षले अत्यावश्यकीय सामाग्रीहरुको आपूर्तिमा कुनै अवरोध नगरेको दोहोर्याउंदै मोदीले नेपाली नेताहरुलाई संकटको शीघ्र र प्रभावकारी समाधानका लागि काम गर्न आग्रह गरेको ट्वीटरमा जनाइएको छ।

त्यसअघि भारतीय विदेश मन्त्रालयले वीरगञ्ज घटनाप्रति आफ्नो गहिरो चासो रहेको भन्दै त्यसमा, उसकै शब्दमा, एक जना निर्दोष भारतीय नागरिक मारिएको जनाएको थियो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिदैँ नेपालमा देखिएका समस्या राजनीतिक प्रकृतिका रहेकाले बल प्रयोगबाट त्यसलाई समाधान गर्न नसकिने जनाएका छन्।

भारतीय ढुवानीकर्ता र यातायात व्यवसायीले सीमा क्षेत्रको बिंग्रदो अवस्थाबारे सोमबार पनि चिन्ता व्यक्त गरेको भन्दै भारतले उनीहरुलाई सावधान रहन र आफूलाई खतरामा पार्ने कुनै गतिविधि नगर्न आग्रह गरेको जनाएको छ।

संलग्नता

नेपालको गृहमन्त्रालयले भने वीरगञ्जमा सुरक्षाकर्मीमाथि प्रदर्शनकारीहरुले आक्रमण गरेको र परिस्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउंदा भारतीय युवकको ज्यान गएको जनाएको छ।

ढुंगामुढा गर्ने प्रदर्शनकारीमध्ये पांच जनालाई नियन्त्रणमा लिइएको र तीमध्ये दुई जना भारतीय नागरिक रहेको गृहप्रवक्ता लक्ष्मी ढकालद्वारा जारी वक्तव्यमा उल्लेख छ।

वक्त्वयमा, लामो समययता अड्किएका भारतीय ट्रक भारततिर पठाउन नेपालले आज नाका खुलाइदिएपनि भारतीय पक्षले आफ्नो भूमिमा अलपत्र ट्रकहरु नेपाल पठाउन सहयोग नगरेको उल्लेख छ।

परराष्ट्र मन्त्रालयले पनि त्यस्तै खालको वक्त्व्य निकाल्दै सुरक्षाकर्मीले अधिकतम संयमता अपनाउंदा समेत आन्दोलनकारी उत्तेजित हुंदा वीरगञ्जमा पछिल्लो घटना हुन पुगेको जनाएको छ।

मन्त्रालयले तराईमा जारी तनाव वार्तामार्फत हल गर्न सरकार प्रतिवद्ध रहेको समेत जनाएको छ।