जर्मन फुटबल महासंघमा प्रहरी छापा

  • 3 नोभेम्बर 2015
तस्वीर कपीराइट Getty
Image caption जर्मन फुटबल संघले आफूमाथि लगाइएको आरोपको प्रतिवाद गरेको छ

फ्रयाङ्कफर्टस्थित प्रहरीहरुले सन् २००६ को विश्वकप फुटबलसँग सम्बन्धित कर छलीको विषयलाई लिएर जर्मन फुटबल संघ डिएफबीको कार्यलयमा छापा मारेका छन्।

डिएफबीका अध्यक्ष र उनका पूर्ववर्तीको घरमा पनि खानतलासी गरिएको छ।

सन् २००६ मा जर्मनीलाई विश्वकप आयोजना गराउने अधिकार दिलाउन झण्डै ७० लाख युरोको कोष खडा गरिएको भन्ने विवरण आएपछि पछिल्लो कारवाही अघि बढाइएको हो।

अघिल्लो महिना डिएफबीले त्यस्तो दाबीको खण्डन गरेको थियो।

खानतलासी

एउटा विज्ञप्ति जारी गर्दै सरकारी वकिलको कार्यलयले सन् २००६ मा जर्मनीमा विश्वकप आयोजना गर्ने क्रममा भएको गम्भीर कर छलीको दाबीबारे अनुसन्धान थालेको बताएको हो।

उसले आयोजक समितिले डिएफबीमार्फत फिफामा पठाएको भनिएको झण्डै ७० लाख युरोबारे अनुसन्धान गरिरहेको जनाएको छ।

बर्लिनबाट बीबीसीकी जेनी हिल भन्छिन सर्सती हेर्दा उक्त रकम विश्व कप प्रतियोगिताको हिस्सा रहेको एउटा सांस्कृतिक कार्यक्रममा खर्च गर्न खोजिएको जस्तो देखिन्छ।

तर जर्मनको कर निकायले उक्त रकम खर्चिनुको कारण बेग्लै रहेको बताएपछि फिफाबाट भोट किन्न सो रकम प्रयोग गरिएको भन्ने जर्मनका छापाहरुले लगाइरहेको आरोपलाई बल पुगेको उनले बताइन्।

डिएफबीका अध्यक्ष भलफ्ग्याङ निरबाखले उक्त आरोप अस्वीकार गर्दै फिफाबाट अझ धेरै श्रोत जुटाउन उक्त रकम खर्च गरिएको बताएका छन्।

उनले फिफाका निलम्बित अध्यक्ष सेप ब्लाटर र तत्कालीन विश्वकप आयोजक समितिका अध्यक्ष फ्रान्ज बेकेन्वर सहितको गोप्य बैठकबाट त्यस्तो समझदारी भएको बताएका छन्।

तर एउटा साप्ताहिक पत्रिकासँग बोल्दै उनका पूर्ववर्ती थेओ स्वामसिगरले आफ्ना उत्तराधिकारीले ठगेको धारणा राखेका छन्।

विवाद

अघिल्लो हप्ता बेकन्वरले सन् २००० मा अघि बढाइएको टेन्डर प्रकियामा आफूले गल्ती गरेको बताउँदै सन् २००६ को विश्वकप आयोजना गर्न मत किनेको भन्ने आरोपको खण्डन गरेका थिए।

विश्वकप विजेता जर्मनी टोलीका कप्तान र पूर्व प्रशिक्षक समेत रहेका उनले उक्त रकम फिफाबाट केही सहुलियत प्राप्त गर्न खर्चिएको धारणा राखेका छन्।

अक्टोबरमा प्रकाशित एउटा समाचारमा डर सपिगेलले डिएफबीले एडिडास कम्पनीका तात्कालिक मालिक रोबर्ट लुइ ड्रेफसबाट रकम लिएर भोट खरिद गरिएको जनाएको थियो।

आफ्नो इतिहासकै सबैभन्दा ठूलो भ्रष्टाचारको काण्ड झेलिरहेको फिफाले उक्त गम्भीर आरोपमाथि आफूले छानबिन गर्ने बताएको थियो।

गएको मे मा अमेरिकी न्याय विभागले १४ जना फुटबल र खेल बजारीकरण अधिकारीमाथी भ्रष्टाचारको आरोप लगाएको थियो।

फिफाबाट बाहिरिने घोषणा गरेका अध्यक्ष सेप ब्लाटरसँगै फुटबलको सर्वोच्च निकायका महासचिव र उपाध्यक्ष पनि भ्रष्टाचारकै अभियोगका कारण निलम्बनमा छन्।