‘कारमा प्रदूषण जाँच छल्ने उपकरण’

  • 3 नोभेम्बर 2015
Image caption भोक्सवागनले इन्भार्मेन्टल प्रोटेक्सन एजेन्सीसँग पछिल्लो दाबीबारे कुराकानी भइरहेको बताएको छ

अमेरिकी नियमकहरुले भक्सवागनका केही कारहरुमा प्रदूषण जाँच छल्ने उपकरणहरु जडान गरिएको पाइएको बताएका छन्।

उनीहरुका अनुसार असर देखिएका पोर्स, आउडी र भीडब्ल्यूका करिब १० हजार कारहरुमाथि अनुसन्धान भईरहेको छ।

वातावरण रक्षासम्बन्धी निकाय इन्भार्मेन्टल प्रोटेक्सन एजेन्सी (इपीए) का अनुसार ३.० लिटर इन्जिनको सन् २०१२ पछिका कारहरुमा असर देखिएको छ।

तर जर्मन कार निर्माता भक्सवागनले आफ्ना कारहरुमा प्रदूषण जाँच छल्ने उपकरण जडान गरिएको भनी अमेरिकी नियमकहरुले गरेको दाबी अस्वीकार गरेको छ।

समन्वय

उसले उक्त दाबीबारे स्पष्ट पार्न इपीएसँग समन्वय गरिरहेको बताएको छ।

यसैगरी एउटा विज्ञप्तिमार्फत पोर्सले नियमक निकायको दाबीबाट आश्चर्यमा परेको जनाएको छ।

उसले भनेको छ, “यो सूचना दिइरहँदासम्म हाम्रा साधनहरु मापदण्ड अनुसारकै छन्।”

इपीएले अनुसन्धान जारी रहेको बताएको छ।

कानुन

इपीएको कार्यान्वयन युनिटकी सहायक प्रशासक सिथिया जाइल्सले भनिन्, “सबै अमेरिकीका लागि स्वच्छ हावासम्बन्धी कानुन पालना गर्नुपर्ने दायित्वबाट भक्सवागन पुनः एकपटक चुकेको छ।”

यसअघि भक्सवागनले सन् २००९ देखि २०१५ सम्मका मोडेलका कारहरुमा प्रदूषण जाँच छल्ने सफ्टवेयर बनाइएको इपीएसमक्ष स्वीकार गरेको थियो।

उसले त्यसबाट एक करोड १० लाख कारहरु प्रभावित भएको बताएको थियो।

भक्सवागनको त्यस्तो स्वीकारोक्तिले अमेरिकी नियमकहरुलाई थप अनुसन्धान गर्न हौस्यायो र त्यसपछि उनीहरु पछिल्लो निष्कर्षमा पुगेका हुन्।