रुमेनियाका प्रधानमन्त्रीद्वारा राजीनामा

  • 4 नोभेम्बर 2015
तस्वीर कपीराइट epa

रुमेनियामा गत शुक्रबार तीसजना भन्दा बढीको ज्यान जाने गरी भएको आगलागीको एउटा घटनाको विषयलाई लिएर गरिएको आम विरोध प्रदर्शनपछि त्यहांका प्रधानमन्त्री भिक्टर पोन्टाले पदबाट राजीनामा दिएका छन्।

मंगलबार राजधानी बुखारेस्टमा भएको विरोध प्रदर्शनका क्रममा २० हजार जना भन्दा बढी मानिसहरुको भीडले प्रधानमन्त्री र आन्तरिक मामिला मन्त्रीको राजीनामा माग गरेका थिए।

शुक्रबार राती बुखारेष्टस्थित एउटा रात्रीकालीन मनोरञ्जनस्थल, नाइट क्लब, भित्र एउटा सांगीतिक समूहले आतसवाजी गर्दा आगलागी भएको थियो।

त्यस दुर्घटनामा झण्डै ३२ जना मारिएका थिए।

हताहति

सो दुर्घटना हुंदा उक्त नाइट क्लबमा 'गुडबाई टु ग्र्याभिटी' नामको सांगीतिक समूहले आयोजना गरेको नि:शुल्क सांगीतिक कार्यक्रम चलिरहेको थियो र त्यसमा चारसय जना भन्दा बढीको सहभागिता रहेको थियो।

उक्त नाइटक्लबभित्र फोमले गरिएको साजसज्जामा आतसवाजीको झिल्को पर्दा आगलागी हुन गएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

त्यसपछि मच्चिएको भद्रगोल र नाइटक्लबबाट निस्कने एउटामात्र ढोका रहेको हुंदा ठूलो संख्यामा हताहति भएको हुनसक्ने ठानिएको छ।

सो नाइटक्लबका तीनजना मालिकहरुलाई गिरफ्तार गरिएको छ।

विरोध

सरकार भ्रष्ट भएको र सो नाइटक्लब जस्ता स्थलहरुको सुरक्षा अनुगमन कमजोर रहेको जस्ता असन्तुष्टिहरु व्यक्त गर्दै विरोध प्रदर्शनकारीहरुले प्रधानमन्त्री भिक्टर पोन्टाको राजीनामा माग गरेका थिए।

प्रधानमन्त्री पोन्टाले आफ्नो राजीनामाले सरकारबाट उनको बहिर्गमन चाहनेहरुको चित्त बुझाउने आशा व्यक्त गरेका छन्।

बीबीसीका मध्य युरोप संवाददाता निक थोर्प भन्छन्, राजधानी र प्रान्तीय शहरहरुमा थप विरोध प्रदर्शनहरुको योजना गरिएको छ।

रुमेनियामा सन् १९८९ मा कम्युनिष्ट तानाशाहा निकोलाई चाउचेस्कुलाई सत्ताच्युत गरेको क्रान्ति यता कडा प्रकृतिको भ्रष्टाचार निवारण निकाय कायम छ र ठूला विरोध प्रदर्शनहरु सफल पनि हुने गरेका छन्।