भूकम्प पीडितको हिउँद पनि कष्टकर हुने चिन्ता

  • 6 नोभेम्बर 2015
Image caption पुनर्निर्माण प्राधिकरण नबन्दा भूकम्पपछि गर्नुपर्ने पुनर्निर्माणका कामहरु पनि हुन सकेका छैनन्

इन्धन अभावका कारण खाद्यान्न ढुवानीमा समस्या पर्नुका साथै रोजगारीको अवसर समेत कम हुँदै गएपछि भूकम्प प्रभावित क्षेत्रको जनजीवन कठिन बन्दै गएको स्थानीय प्रशासकहरुले बताएका छन्।

जाडो बढ्दै गएको र पुननिर्माणको काम शुरु हुन नसकेका कारण यस वर्षको हिउँद उनीहरुका लागि थप कटष्कर हुने देखिएको छ।

कतिपय संघसंस्थाले गर्न चाहेको सहयोग पनि इन्धन अभावले पीडितहरुसम्म पुर्याउन नसकिएको सरकारले बताएको छ।

दिनदिनै चिसो बढ्दै गएको छ र उच्च पहाडी क्षेत्रहरुमा हिमपात शुरु भएको छ।

पुनर्निर्माण

तर अहिलेसम्म अधिकांश भूकम्प प्रभावितहरु अस्थायी टहरामै बस्न बाध्य रहेको प्रमुख जिल्ला अधिकारीहरु बताउँछन्।

पुनर्निर्माणको काम शुरु हुन नसकेको र निर्माण थालिएका कामहरु समेत इन्धन अभावले प्रभावित भएको उनीहरुको भनाई छ।

जसका गर्दा धेरै मानिसहरु यो हिउँदमा अस्थायी टहरा र पालमै बिताउनुपर्ने स्थिति देखिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले बताए।

उनले भने, “पुनर्निर्माणका लागि चाहिने साधनहरु ल्याउने, जुटाउने र घरहरु निर्माण गर्न समस्या परेको छ, यही रुप रहिरहने हो भने तत्काल काम हुने अवस्था हुँदैन, जाडो आइसक्यो, घरको निर्माण नभएमा मानवीय संकट त पर्नेनै भयो।”

पछिल्लो आपूर्ति संकटको सबैभन्दा बढी मारमा बालबालिका र वृद्धहरु पर्ने उनको भनाई छ।

खाद्यान्न

Image caption भूकम्पपछि रोजगारीको अभावमा विदेसिनेको संख्या बढिरहेको बताइन्छ

इन्धन अभावका कारण भूकम्प प्रभावित विकट क्षेत्रमा खाद्यान्न समेत पठाउन समस्या भएको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए।

उनले भने, “संघ संस्थाहरुले सहयोग गर्ने सामाग्रीहरु ल्याउन पनि हामीलाई केही अप्ठ्यारो परिरहेको छ, लाङटाङ क्षेत्रमा पुनर्स्थापित गराएका बस्तीमा जस्ता पाता समेत पुर्याउन समस्याहरु भइरहेको छ।”

यसका अलावा इन्धन अभावले जिल्लामा भइरहेका विकास निर्माणका कामहरु समेत प्रभावित भएपछि भूकम्प प्रभावितहरुको आम्दानीको स्रोत समेत बन्द भएको गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाको भनाई छ।

उनले भने, “निर्माण कम्पनीहरुले निर्माण सामाग्रीहरु ल्याउन सकेका छैनन्, त्यसले गर्दा मजदुरहरुले काम पाएका छैन्, काम नभएकाले उनीहरुको छाक टार्ने समस्या बढ्दै गएको छ, त्यसले गर्दा यस्ता खालका धेरै समस्याहरु आउने सम्भावना देखेको छु।”

आफूहरुले जिल्लामा प्रयास गर्दागर्दै पनि स्थिति आफ्नो नियन्त्रणभन्दा बाहिर जान लागेको र समस्या विकराल बन्दै गएको स्थानीयस्तरमा जनआक्रोश बढ्न सक्ने प्रमुख जिल्ला अधिकारीहरुले चेतावनी दिएका छन्।

स्थिति बिग्रन नदिन खाद्यान्नको ढुवानी, स्थानीय विकास निर्माणका कामहरुको सञ्चालन र पुनर्निर्माणकामको काम तत्काल अघि बढाउन आवश्यक रहेको उनीहरुको भनाई छ।