तराइमा कैयौं सरकारी कार्यालय बन्द

  • 7 नोभेम्बर 2015
तस्वीर कपीराइट Ram Sarraf
Image caption तराइमा आन्दोलनका कारण महिनौंदेखि कैयौं सरकारी कार्यालय बन्द छन्

तराइमा आन्दोलन सुरु भए यता जिल्ला प्रशासन कार्यालय तथा सेना र प्रहरीका कार्यालय बाहेक सरकारका कैयौं कार्यालयहरु बन्द रहेका छन्।

शुरुमा सदरमुकाम पछि राजमार्ग र त्यसपछि सीमा नाका नै ठप्प पारेर चलेको आन्दोलनका कारण स्कूल र उद्योग कलकारखाना पनि खुल्न सकेका छैनन्।

त्यसबाट आम सर्वसाधारण ठूलो मर्कामा परेको देखिएको छ।

आन्दोलन प्रभावित तराइका जिल्ला सदरमुकामहरुमा जिल्ला प्रशासन, प्रहरी र सेनाको कार्यालय बाहेक अन्य सरकारी कार्यालयहरु नखुलेको तीन महिना बितिसक्यो ।

सेवाग्राही

जिल्ला सदरमुकामको यस्तो अवस्था माओवादी द्वन्द्वको बेलापनि नरहेको पर्साका प्राध्यापक प्रमोद गुप्ता बताउँछन ।

उनी भन्छन्, "सरकारी कामकाज बन्द छ सेवाग्राहीले सेवा पाउन सकेका छैनन् सरकार नभएको महशुस भएको छ।"

तराइका जिल्लाहरुमा तीन महिनादेखि सरकारी कार्यालयहरु सञ्चालन नहुँदा विकास निर्माण लगायतका सबै कामहरु ठप्प रहेको धनुषाका स्थानिय विकास अधिकारी रामकृष्ण उप्रेती बताउँछन्।

ठप्पप्राय: धनुषाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले प्रशासन कार्यालय बाहेक अन्य कार्यालयहरु पूर्ण रुपमा ठप्प रहेको बताउँछन्।

उनी भन्छन्, "आन्दोलनकारीले कार्यालय बन्द गराउँदै हिँडने, कर्मचारी आन्दोलनमा ऐक्यबद्धता जनाउन हिँडने गरेका छन्। जिल्ला प्रशासन खुला छ तर अरु कार्यालय ठप्प जस्तै छ।"

मालपोत, नगरपालिका, जिल्ला विकास, आन्तरिक राजस्व, जनस्वास्थ्य, गाविस लगायतका कार्यालयहरु सञ्चालन नहुँदा सर्बसधारणहरु मर्कामा परेका छन्।

आमहडतालसँगै बैंक बितिय संस्थाहरुपनि नियमित सञ्चालन हुन सकेको छैन ।

उद्योग कल कारखाना त देशभरकै प्रभावित भएको छ।