म्यानमारमा मतपरिणामको प्रतिक्षा

  • 9 नोभेम्बर 2015
तस्वीर कपीराइट AFP
Image caption दशौंहजार अधिकारी र स्वयंसेवीहरुले मत गनिरहेका छन्।

म्यानमारको मुख्य विपक्षी पार्टी, न्याशनल लिग फर डिमोक्रेसी, ले आइतबारको संसदीय निर्वाचनमा आफूले सत्तरी प्रतिशत स्थान जीत्ने अनुमान गरेको छ।

औपचारिक रुपमा थोरै स्थानको मत परिणाम मात्र घोषणा गरिएको भएतापनि सो पार्टीकी नेतृ आउंग सान सू ची ले आफ्नो दलको विजयको संकेत गरेकी छन्।

उनले आफ्ना समर्थकहरुको भीडलाई सम्बोधन गर्दै सबैले निर्वाचन परिणामको सुखद नतिजाको अनुमान गरिसकेको हुनुपर्छ भनेकी छिन्।

आवश्यक

सेना समर्थित युनियन सोलिडारिटी पार्टी सन् २०११ देखि सत्तामा रहेको छ।

सो पार्टीका कार्यवाहक अध्यक्षले बीबीसी बर्मेली सेवासंग कुरा गर्दै आफू एनएलडीका उम्मेदवारसंग पराजीत भएको बताएका छन्।

तर संविधानको प्रावधान अनुसार सेनाले संसदको सबै स्थानको पच्चीस प्रतिशत स्थान प्राप्त गर्ने निश्चित छ।

त्यसैले अर्को सरकार गठन गर्नका लागि विपक्षीले बांकी निर्वाचन क्षेत्रको दुई तिहाइ स्थान जित्न जरुरी हुन्छ।

यांगुनमा रहेका बीबीसी सम्बाददाता जोन फिशर भन्छन् त्यो एकदमै गाह्रो काम हो।

सम्भावना

तर शहरी क्षेत्रहरुमा लोकप्रिय एनएलडी पार्टीले जातिय अल्पसंख्यकहरुको बाहुल्य रहेको ग्रामीण क्षेत्रहरुमा पनि विजय हासिल गर्न सक्यो भने त्यो असम्भव नहुन पनि सक्छ।

तर एनएलडीको विजय पछि पनि सो पार्टीकी नेतृ आउंग सान सू ची देशको राष्ट्रपति बन्न भने पाउने छैनन्।

किनकी देशको संविधान अनुसार विदेशीसंग विवाह गरेर सन्तान जन्माएका व्यक्ति राष्ट्रपति हुन पाउंदैनन्।

आउंग सान सू ची को दिवंगत श्रीमान र उनका दुईजना छोराहरु पनि ब्रिटिश नागरिक हुन्।