म्यानमारमा संसदीय चुनावको मतगणना जारी

  • 9 नोभेम्बर 2015
एन एल डीका कार्यकर्ता तस्वीर कपीराइट AFP
Image caption मतदान सकिए लगत्तै आङ साङ सूचीको दलका कार्यकर्ताहरुले खुसियाली मनाउन थालेका थिए

म्यानमारमा २५ वर्षयता पहिलो पटक स्वतन्त्र रुपमा सम्पन्न आमनिर्वाचनको नतिजा सोमबार अबेरसम्म आउने अपेक्षा गरिएको छ।

निर्वाचनमा ८० प्रतिशत मत खसेको अनुमान गरिएको छ।

अधिकांश मत आफूहरुले जित्ने आशा गरेका प्रतिपक्षी नेशनल लिग फर डेमोक्रेसी-एनएलडीका समर्थकहरु हर्षित देखिएका छन्।

निर्वाचन स्वतन्त्र र निष्पक्ष रहेको पर्यवेक्षकहरुको भनाइ छ।

संघर्ष

तर सैनिक समर्थित युनियन सोलिडारिटी डेभलपमेन्ट पार्टी- युएसडीपीसँग अझै उसले शक्ति संघर्ष गर्नुपर्नेछ किनकि संसदको कूल ६ सय ६४ सीटमध्ये एक चौथाई सीट सेनाको लागि आरक्षित छ।

संवैधानिक व्यवस्थाका कारण नोबेल शान्ति पुरस्कार विजेता समेत रहेकी एनएलडीकी नेतृ आङ्ग साङ्ग सूची राष्ट्रपति हुन पाउँदिनन्।

संवैधानिक व्यवस्था अनुसार विदेशी सन्तान भएको व्यक्ति राष्ट्रपनि हुन पाउँदैन।

सूचीका सन्तानहरु ब्रिटिश हुन्।

सैनिक समर्थित युएसडीपी सन् २०११ देखि सत्तामा छ।

एनएलडीका उत्साहित देखिएका समर्थकहरु साँझ पर्नासाथ याङ्गुनस्थित पार्टी मुख्यालय बाहिर भेला हुन थालेका थिए।

तर पार्टीले आ-आफ्नो घरमै बसी शान्तिका साथ मत परिणामको प्रतीक्षा गर्न आग्रह गरेको थियो।

नतिजा

स्थानीय समयअनुसार सोमबार विहान ९ बजे पहिलो औपचारिक नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ।

छिटफुट अनियमितताका घटना बाहेक मतदान स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न भएको पर्यवेक्षकहरुले बताएका छन्।

अमेरिकी विदेशमन्त्री जन केरीले लोकतन्त्रका निम्ति एउटा महत्वपूर्ण कदम भन्दै निर्वाचनको प्रशंसा गरेका छन्।

यद्यपि त्यो पूर्णरुपमा त्रुटिरहित नभएको उनले बताएका छन्।

आइतबारको निर्वाचनका लागि केही मतदान केन्द्रहरुमा मतदातहरु झिसमिसे विहानीदेखि लामबद्ध देखिएका थिए।

मतदानपछि मतदाताहरु खुशी देखिन्थे र उनीहरुले मत खसालिसकेको प्रमाणस्वरुप औंलामा हरियो रंग लगाएको देखाइरहेका थिए।