रुसी प्रयोगशालाका प्रमुखद्वारा राजीनामा

  • 11 नोभेम्बर 2015
ओषधी तस्वीर कपीराइट RIA Novosti
Image caption रुसी अधिकारीहरुले खेलाडीहरु र प्रतिबन्धित औषधिको प्रयोगबारे अब नयाँ बहस थाल्ने अपेक्षा गरिएको छ

विश्व प्रतिबन्धित औषधि निकायको प्रतिवेदनले एथलेटिक्स खेलमा व्यापकस्तरमा छलछाम भएको आरोप लगाए लगत्तै रुसको प्रतिबन्धित औषधी अनुसन्धान प्रयोगशालाका प्रमुखले राजीनामा दिएका छन्।

राजीनामा दिनु एक दिनअघि मात्रै ग्रिगोइरी रोड्चेन्कोवले रुसविरुद्धका आरोपहरुलाई मुर्खहरुले तयार पारेको प्रतिक्रिया दिएका थिए।

रुसी खेलकुदमन्त्री भिताली मुत्कोले आफ्ना सबै नकारात्मकता हटाउनको लागि रोड्चेन्कोवले पदत्याग गरेको बताए।'

बीबीसीसँग कुरा गर्दै रुसी एथलेटिक्स संघका प्रमुख मिखाइल बुट्कोवले प्रशिक्षकको तहमा “मानसिकतासम्बन्धी समस्याहरु” भएको स्वीकार गरे।

समस्या

उनले भने, “हामीलाई हाम्रो समस्या थाहा छ, हाम्रा प्रशिक्षकहरुको मानसिकतामा परिवर्तन ल्याउन जरुरी छ।”

गत एप्रिल महिनामा प्रतिबन्धित औषधिविरुद्ध तालिमहरु सञ्चालन गरेको उल्लेख गर्दै उनले भने, “हामीले थुप्रै प्रशिक्षक र खेलाडीहरु भेट्यौं, यस्तो समस्या तत्कालै हल हुन सक्दैन, तर हामीले समाधान गर्ने थालनी गरेका छौं।”

यसैसन्दर्भमा बुधबार रुसी राष्ट्रपति भ्लादीमिर पुटीनले सोचीमा रुसी खेल संघका पदाधिकारीहरुसंग भेटघाट गर्दैछन्।

प्रतिवेदन सार्वजनिक गर्दै विश्व प्रतिवन्धित औषधि निकायले रुसी एथलेटिक्स खेलाडीहरुलाई अर्को वर्ष हुने ओलम्पिक्स सहित सबै अन्तर्राष्ट्रियत प्रतियोगिताहरुमा प्रतिबन्ध लगाउनुपर्ने बताएको थियो।