कांग्रेसले आन्दोलनरत मोर्चासँग वार्ता गर्ने

  • 12 नोभेम्बर 2015
तस्वीर कपीराइट bbc
Image caption कांग्रेसका नेताहरुले सरकारले खासै सक्रियता नदेखाएको बताउँदै आएका छन्

तराई केन्द्रित दलहरुले नेपाली कांग्रेसको उपस्थिति भएमात्र सरकारसँगको वार्ता सार्थक हुने बताइरहेका बेला उक्त पार्टीले मध्यस्थताका निम्ति सक्रियता देखाएको छ।

त्यसको प्रारम्भिक तयारीस्वरुप तराई केन्द्रित दल र एकीकृत नेकपा माओवादीका नेताहरुसँग वार्ता थालिसकेको कांग्रेसका कार्यवाहक सभापतिले बताएका छन्।

नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले तराईमा आन्दोलनरत दलका नेताहरुसँग र एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग छुट्टाछुट्टै भेटेर कुराकानी गरिसकेको र बिहिबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग वार्ता गर्न लागेको बताए।

मिलनविन्दु

पौडेलले भने, “हामीले मधेशी दलका धेरै नेताहरु र एकीकृत नेकपा माओवादीसँग कुरा गरिसक्यौं, उहाँहरु पनि समाधानको पक्षमा हुनुहुन्छ र मिलनविन्दु खोजिरहनुभएको छ, कुरागर्दै जाँदा कहीं न कहीं समाधान निस्किनेछ।”

सरकार र मोर्चाबीचको वार्ताले नतिजा दिन नसकिरहेको बेला प्रतिपक्षी कांग्रेसले मध्यस्थता गर्ने सक्रियता देखाउनुपरेको उनले बताए।

पौडेलले थपे, “देशको जनजीवन अस्तव्यस्त छ, जनताले कष्ट पाइरहेका छन्, यो अवस्थामा नेपाली कांग्रेस जस्तो पार्टी चुप लागेर बस्न हुँदैन, हामी यो असहज अवस्थाको अन्त्य गर्न चाहन्छौं।”

अर्थपूर्ण

वार्तामा नेपाली कांग्रेसको उपस्थिति समेत खोजी गरिरहेको तराई केन्द्रित दलहरुका निम्ति उसको पछिल्लो सक्रियता सकारात्मक लाग्ने ठानिएको छ।

एक मुख्य दलको सहारा पाएमा आफ्ना माग पूरा गराउन सहज हुन सक्ने उनीहरुमध्ये कतिपयले ठानेका छन्।

तर विश्लेषकहरु भन्छन् वर्तमान सरकारमाथि बढेको चौतर्फी दबाबका माझ हालै प्रधानमन्त्रीको निर्वाचनमा उम्मेदवारी दिएपछि आलोचित बनेको कांग्रेसले देखाएको पछिल्लो सक्रियता महत्वपूर्ण मात्र नभई अर्थपूर्ण समेत देखिन्छ।