आइएसले युद्धको घोषणा गरेको छ: ओलाण्ड

  • 14 नोभेम्बर 2015
तस्वीर कपीराइट AFP

फ्रान्सका राष्ट्रपति फ्रांस्वा ओलाण्डले प्यारिसमा कम्तिमा १२७ जनाको ज्यान जाने गरी भएका हमलाहरुलाई ‘इस्लामिक स्टेट आतंकवादीहरुले घोषणा गरेका युद्ध’ भनेका छन्।

उनले ति हमलाहरुको योजना र संयोजन फ्रान्सभित्रै रहेका तत्वहरुको सहयोगमा देश बाहिरबाट भएको बताएका छन्।

देशमा संकटकालको घोषणा गरिएको छ।

फ्रान्सको राजधानीको विभिन्न छ स्थानमा आक्रमण गरेका, शरिरमा विस्फोटक पदार्थ बांधेका, आठजना आत्मघाती हमलाकारीहरु मारिएका छन्।

खराब

तस्वीर कपीराइट EPA

एउटा रक सांगितिक समारोहमा भएको सबैभन्दा खराब घटनामा झण्डै असीजना मारिएका प्रहरीले जनाएको छ।

प्रत्यक्षदर्शीहरुका अनुसार कालोरंगको पोशाक लगाएका आक्रमणकारीहरुले आफूले बन्धक बनाएका व्यक्तिहरुलाई नजीकैबाट गोली हानी मारेका थिए।

ति हमलाकारीहरुले आफूले फ्रान्सलाई सो देशले सिरियामा गरेको सैनिक कार्वाहीको बदलामा सजायं दिएको भनी चिच्याएको, प्रत्यक्षदर्शीहरुले बताएका छन्।

बन्धकस्थलमा प्रहरी प्रवेश गरेपछि तीनजना हमलाकारीहरुले आफ्नो जीउमा बांधेका विस्फोटक पदार्थहरु पडकाएका थिए भने चौथो हमलाकारीलाई प्रहरीले गोली हानी मारिदिएका थिए।

त्यसअघि बन्दूकधारीहरुले सो सांगीतिक समारोह भैरहेको स्थल नजीकैको रेस्तरांहरुमा अन्धाधुन्ध गोली चलाउंदा कयौं हताहतिहरु भएका थिए।

अन्य हमलाकारीहरुले फ्रान्सको राष्ट्रिय रंगशाला बाहिर बमहरु विस्फोट गराएका थिए, जुन बेला रंगशालाभित्र फ्रान्स र जर्मनीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगीता भैरहेको थियो।

राष्ट्रिय शोक

अधिकारीहरुका अनुसार आठजना हमलाकारीहरु मारिएका छन् जस मध्ये सात जना आत्मघाती बमहमलाकारीहरु थिए।

प्रहरीले ति हमलाकारीहरुका संदिग्ध सहयोगीहरुको खोजी भैरहेको जनाएको छ।

सो हमलामा मारिएकाहरुको शोकमा फ्रान्समा तीन दिन राष्ट्रिय शोक मनाइने भएको छ।

प्यारिसका मेयरले भनेका छन् – आंतकवादीहरुले शहरका युवाहरु सप्ताहान्तको छुट्टी मनाउन जाने स्थानहरुलाई निशान बनाउंदा सो शहरले आतंकवादका अगाडी निकै महंगो मूल्य चुकाउनु परेको छ।

प्यारिस क्षेत्रमा सबै खेलकुदका कार्यक्रमहरु रद्द गरिएको छ। शहरका सबै विद्यालय विश्वविद्यालय र सरकारी भवनहरु पनि बन्द गरिएका छन्।