‘विदेशी र स्वदेशीलाई संविधानबारे भ्रम’

  • 15 नोभेम्बर 2015
तस्वीर कपीराइट IndiaInNepal
Image caption परराष्ट्रमन्त्री कमल थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अवरोध हटाउन आग्रह गरेको बताएका थिए

भारतीय र ब्रिटिश प्रधानमन्त्रीद्वारा जारी संयुक्त वक्तव्यमा नेपालमा समावेशी र दिगो संवैधानिक निकासमा जोड दिनुलाई उपप्रधान तथा परराष्ट्रमन्त्रीले अन्तर्राष्ट्रियस्तरमा भ्रम श्रृजना गर्न खोजिएको प्रयास भनी टिप्पणी गरेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ब्रिटेन भ्रमणको अन्त्यमा शनिवार जारी त्यस्तो वक्त्वयमा महत्वपूर्ण दुई पक्षीय र अन्तर्राष्ट्रिय मामिलासँगै नेपालको विषयले पनि प्रवेश पाएको थियो।

मूलत: दुईपक्षीय व्यापारदेखि लिएर भारतलाई सुरक्षा परिषदमा स्थायी सदस्यता दिलाउनेबारेका सम्म मुद्दा समेटिएको संयुक्त वक्त्वयमा नेपालको राजनीतिक विषयले पनि स्थान पाएको थियो।

बाँकी चासोका क्षेत्र सम्बोधन गर्न र राजनीतिक स्थायीत्व तथा आर्थिक वृद्धि प्रवर्द्धन गर्न समावेशी र दीर्घकालीन संवैधानिक निकासमा जोड दिइएको वक्त्व्यलाई कतिपयले तराई तनाव हल गर्न दिइएको सांकेतिक सुझावको रुपमा अर्थ्याएका छन्।

भ्रामक

तर विश्वका शक्तिशालीमध्येका ती दुई प्रधानमन्त्रीको वक्तव्यको नेपाल अंशलाई उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले भ्रामक भनी टिप्पणी गरे।

उनले भने, “ब्रिटेनका प्रधानमन्त्री डेभिड क्यामरन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जुन किसिमको चिन्ता व्यक्त गर्नुभयो, त्यो पनि यस्तै भ्रमको परिणाम हो जस्तो मलाई लाग्छ, नेपालभित्रै पनि खासगरी तराई मधेसमा जुन आन्दोलन चलिरहेको छ, त्यो आन्दोलनको क्रममा पनि यस्ता भ्रम श्रृजना गरिएका छन् जस्तो मलाई लाग्दछ, यो योजनाबद्ध र नियोजित तरिकाले भइरहेको हो कि भन्ने आशंका पनि हामीलाई लागिरहेको छ।”

मोदीको ब्रिटेन भ्रमणको पहिलो दिन नै त्यहाँ रहेका नेपालीहरुले भारतले नेपालमाथि नाकाबन्दी गरेको भन्दै उनको विरोधमा प्रदर्शन गरेका थिए।

त्यसअघि पूर्व गोर्खा सैनिकहरुले ब्रिटिश प्रधानमन्त्री क्यामरनलाई पत्र लेखी सीमानाका अवरोध हटाउन भारतसँग पहल गरिदिन आग्रह गरेका थिए।

कतिपयले यी दुई घटनाको प्रतिविम्ब संयुक्त वक्त्वयको नेपाल अंशमा परेको ठानेका छन् तर वक्त्व्यमा सीमानाका अवरोधको उल्लेख त परै जाओस् प्रष्ट संकेत समेत भेटिदैंन।