प्यारिस हमलाका सन्दिग्धको खोजी

  • 16 नोभेम्बर 2015
सुरक्षाकर्मी तस्वीर कपीराइट Getty
Image caption प्यारिसमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ

फ्रान्सेली अधिकारीहरुले भनेका छन्, उनीहरुले शुक्रबार राती प्यारिसमा गरिएका हमलामा प्रत्यक्ष संलग्न रहेको ठानिएका एकजना पुरुषको खोजी गरिरहेका छन्।

उनीहरुले ब्रसेल्समा जन्मिएका २६ बर्षीय सलाह अब्देसलामका बारे केही जानकारी भए आफुहरुलाई जानकारी दिन सार्वजनिक अपील गरेका छन्।

उनी हमलामा संलग्न रहेको ठानिएका तीनजना दाजुभाइमध्ये एक हुन्।

एकजनाको बाताक्लाँ कन्सर्ट हलमा प्रहरी कारवाहीमा मारिएका थिए भने अर्कालाई बेल्जियममा पक्राउ गरिएको छ।

हमला

फ्रान्सका गृह मन्त्री बर्नार्ड क्याजनुभेले भने, बेल्जियमा बसोबास गर्ने मानिसहरुले फ्रान्सस्थित उनीहरुका मतियारहरुको सहयोगमा उक्त हमला गरेका थिए।

यसैबीच फ्रान्सेली प्रहरीले हमलामा प्रयोग गरिएको ठानिएको दोश्रो मोटर फेला पारेको जनाएका छन्।

कालो रङ्गको उक्त मोटर शहरको पूर्वी भागमा त्यत्तिकै छाडिएको अवस्थामा पाइएको र त्यहाँ हातहतियार पनि भेटिएको बताइएको छ।

ती हमलामा कम्तीमा १२९ जनाको ज्यान गएको थियो भने तीनसय भन्दा बढी घाइते भएका छन्।

शनिबार बेल्जीयममा भाडामा लिईएको एउटा मोटर अधिकांश मानिसहरुको ज्यान लिइएको एउटा कन्सर्ट हल नजीकै फेला परेको थियो।

ती हमलाको सिलसिलामा ब्रसेल्समा सातजना पुरुषहरुलाई गिरफ्तार गरिएको छ।

उग्रवादी

सातजना बन्दूकधारीहरुमध्ये एकजना फ्रान्सेली नागरिक ओमार इस्माइल मोस्तफाइ भएको र उनलाई अधिकारीहरुले एकजना इस्लामवादी उग्रवादीको रुपमा चिनेका थिए।

प्रहरीले उनका साथी र नातेदारहरुसंग सोधपुछ गरिरहेका छन्।

फ्रान्सका प्रधानमन्त्री म्यानुअल भाल्सले शुक्रबारको हमलामा मारिएका बीस देखि तीसजना सम्मको शव अझै पहिचान हुननसकेको जनाएका छन्।

नातेदारहरुका लागि खडा गरिएको एक केन्द्रमा बोल्दै उनले कतिपय परिवारहरु अत्यन्तै शोकमा परेका र उनीहरुलाई सान्त्वना दिन संभव नभएको बताए।

फ्रान्सभरि नै सुरक्षा कडा पारिएको छ।

तैनाथ

प्यारिसमा तीनहजार सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ।

त्यहाँ संग्रहालय, ग्यालरी तथा पर्यटकीय आकर्षणका अन्य केन्द्रहरु पनि बन्द गरिएका छन्।

शुक्रबारको उक्त हमलापछि फ्रान्सले तीन दिने राष्ट्रिय शोक मनाइरहेको छ।

आइतबार प्यारिसको नोत्रडाम कथिड्रलमा मृतकहरुको सम्झना तथा घाइतेको स्वास्थ्य लाभको कामना गर्दै विशेष प्रार्थना सभा आयोजना गरिएको थियो।

झण्डै १३० जनाको ज्यान जानेगरी गरिएको उक्त हमलाको इस्लामिक स्टेटले जिम्मा लिएको छ।