फ्रान्स युद्धको स्थितिमा:ओलाण्ड

  • 16 नोभेम्बर 2015
hollande
Image caption राष्ट्रपति ओलान्डले आइएसविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताएका छन्

फ्रान्सेली राष्ट्रपति फ्रांस्वा ओलान्डले प्यारिस हमलापछि फ्रान्स युद्धको अवस्थामा रहेको संसदको दुवै सदनको संयुक्त बैठकमा बताएका छन्।

त्यस्तो संयुक्त बैठक विरल मानिन्छ।

उनले सम्बोधनमा आइएसलाई नियन्त्रणमात्रै होइन ध्वास्त पार्न फ्रान्स प्रतिवद्ध रहेको बताए।

कारबाही

प्यारिस हमलाको सम्बन्धमा भइरहेको अनुसन्धान, मोरोक्कन मूलका बेल्जियमका एक जना नागरिक सम्भावित मुख्य योजनाकार हुन सक्ने विषयमा, केन्द्रित रहेको बताइएको छ।

२७ वर्षीय अब्देलहमीद अबाउद २ जना आक्रमणकारी बसेकै ब्रसेल्ससको क्षेत्रमा बसोबास गर्दथे।

उनी अहिले इस्लामिक स्टेट समूहसंग सिरियामा भएको सुरक्षा अधिकारीहरुको विश्वास छ।

फ्रान्सेली अधिकारीहरुले अरु दुई जना आक्रमणकारीको पनि पहिचान गरेका छन्।

पांच जना आक्रमणकारीको पहिचान भइसकेको अवस्थामा थप २ जना आक्रमणकारीको पनि नाम खुलाइएको छ।

तीमध्ये एक जना यसै वर्ष शरणार्थीका रुपमा ग्रीस छिरेको पुष्टि भएको छ।

प्रहरीले ब्रसेल्समा जन्मिएका २६ वर्षीय सलाह अब्देस्लामलाई मुख्य आक्रमणकारीका रुपमा आशंका गरेका छन् र उनको खोजी जारी छ।

फ्रान्समा संदिग्ध इस्लामवादी लडाकुको खोजीमा गरिएका श्रृखंलावद्ध छापापछि २४ जनालाई गिरफ्तार गरिएको र दर्जनौं हतियार कब्जा गरिएको अधिकारीहरुले बताएका छन्।

आन्तरिक मामिला मन्त्री बेनार काज्नोभले एउटा स्वाचालित राईफल र रकेट प्रहार गर्ने सामाग्रीसहित दर्जनौ हातहतियार पनि बरामद भएको बताएका छन्।

१०० भन्दा बढी व्यक्तिलाई नजरबन्दमा राखिएको जनाइएको छ।

गत शुक्रबार प्यारिसमा विभिन्न बार, रेष्टुराँ, एउटा कन्सर्ट स्थल, र रंगशालामा भएका आक्रमणमा १२९ जनाको मृत्यु भएपछि सो कारवाही अघि बढाइएको हो।

तस्वीर कपीराइट AFP
Image caption फ्रान्सका साथै युरोपका अन्य मुलुकमा सोमबार एक मिनेट मौनधारण गरिएको थियो

शोक

बेल्जियमको ब्रसेल्समा पनि प्रहरी कारवाही जारी रहेको र एकजना संदिग्धलाई गिरफ्तार गरिएको बताइएको छ।

फ्रान्सेली प्रधानमन्त्री म्यानुएल भाल्सले उक्त हमलाको योजना सिरियामा बनाइएको जनाएका छन्।

फ्रान्स लगायत अन्य देशहरुमा अरु पनि आतंककारी हमला गर्ने योजना भइरहेको अधिकारीहरुले ठानेको उनले बताए।

यसैबीच प्यारिस हमलामा ज्यान गुमाउनेहरुको सम्झनामा सोमबार मध्यान्न फ्रान्समा देशभर एक मिनेटको मौन धारण गरिएको छ।

फ्रान्स सोमबार राष्ट्रव्यापी शोकको दोस्रो दिनमा छ।

राष्ट्रपति फ्रांस्वा ओलान्डले घोषणा गरेको संकटकाल कायम छ।

हजारौं विशेष प्रहरी र सेना पेरिसका सडकमा अहिले तैनाथ छन्।

सोमबारै फ्रान्सेली लडाकु विमानले इस्लामिक स्टेट समूह आइएसको गढ मानिने सिरियाली शहर रक्कामा आक्रमण गरेको छ।

प्रधानमन्त्री भाल्सले फ्रान्स एउटा आतंककारी समूहसंग मात्र नभइ सिंगै आतंककारी सेनासंग लड्दै गरेको बताएका छन्।