'साँझ-विहान बत्ती दिन कठिन'

  • 17 नोभेम्बर 2015
तस्वीर कपीराइट no credit
Image caption यसपालि हिउँदमा लोडशेडिङ्गलाई १० घण्टामा सीमित गर्ने सरकारी भनाई छ

इन्धन संकटपछि आम उपभोक्ताका भान्सामा विद्युतीय चूल्होको प्रयोग बढ्दै जाँदा तत्कालै लोडशेडिङ्गको समय नबढ्ने भएपनि केही साताभित्रै विद्युतको आपूर्ति कटौती गर्न आफूहरु बाध्य हुने अधिकारीहरुले बताएका छन्।

सीमानाकामा उत्पन्न अवरोधले उद्योग व्यवसाय ठप्प पारेपछि त्यहाँ खपत हुने विद्युत हाल सर्वसाधारणलाई उपलब्ध गराउँदै आएको नेपाल विद्युत प्रधिकरणले जनाएको छ।

तर जाडो बढ्दै जाँदा नदीमा पानीको प्रवाह घट्ने र बिजुली उत्पादनमा कमी आउने भएकाले विहान र बेलुकाको समयमा लोडशेडिङ्ग बढाउनुपर्ने अधिकारीहरुको भनाई छ।

हाल देशको पूर्वी र मध्य क्षेत्रमा साताको २८ घण्टा लोडशेडिङ्गको तालिका रहेपनि सीमापारीबाट कच्चा पदार्थ नआएकाले कलकारखाना बन्द हुँदा एकाध घण्टामात्र बत्ती गइरहेको अधिकारीहरुले जनाएका छन्।

खपत

साधारण अवस्थामा दैनिक ३५० मेगावाट विद्युत उद्योगहरुले प्रयोग गर्दै आएकोमा पछिल्ला दिनमा उनीहरुको खपत झण्डै २० मेगावाटमा खसेको छ।

बजारमा खाना पकाउने एलपीजी ग्याँसको संकट देखापरेपछि हालै सरकारले सर्वसाधारणको सजिलोको लागि साँझ विहान लोडसेडिङ्ग नगर्ने बताएको थियो।

तर नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक मुकेशराज काफ्लेले अझै केही दिन अहिलेकै जस्तो विद्युत आपूर्ति गर्न सकिने भएपनि लामो समयसम्म यसलाई निरन्तरता दिन नसकिने बताए।

उनले भने, "“सरकारको भावनालाई हामीले ग्रहण गरेकाछौँ, सक्दा र उपयुक्त हुँदा त्यो कुरा सहि पनि हो, डेढ दुई हप्ताको लागि अहिले केही समस्या छैन् यही अवस्थामा हामी चल्न सक्छौँ, जतिखेर अप्ठेरो पर्ला त्यो भावनालाई हामी आत्मसाथ गरेर हाम्रो लोडशेडिंङ्गको तालिकामा हामी पुनर्विचार गर्छौँ।”

सम्झौता

यसपटक हिउँदमा लोडशेडिङ्गलाई १० घण्टामा सीमित पार्ने लक्ष्य राखेको प्राधिकरणले त्यसका लागि भारतीय कम्पनी पावर टेड्रिङ कर्पोरेशनबाट ९० मेगावाट विजुली किन्ने सम्झौता गरिसकेको छ।

तराईका कतिपय जिल्लामा भइरहेका आन्दोलनका कारण दुई हप्ताअघि नै संचालनमा आउनुपर्ने ढल्केबर-मुज्जफरपुर अन्तरदेशीय प्रसारणलाइनको निर्माणमा ढिलाइ भएको अधिकारीहरु बताउँछन्।

काफ्लेले एक महिनाभित्र नेपालतर्फ बन्न बाँकी ५ वटा टावर निर्माण गरी प्रसारण लाइन संचालनमा ल्याउने तयारी भएको बताए।

डिसेम्बरको तेश्रो साताबाट थप ९० मेगावट बिजुली ल्याउने सहमतिलाई नेपाल भारत सम्बन्धमा देखिएको पछिल्लो समस्याले प्रभावित नपार्ने विश्वास उनले व्यक्त गरे।

उनले भने, “दुई सय १५ मेगावटको हाराहारीमा अहिले पनि हामीले भारतबाट आयात गरिरहेका छौँ हामीलाई विश्वास छ हामी जुन तहको सम्पर्कमा छौँ यो विद्युत आपूर्तिमा निरन्तर हामीले सहयोग पाइरहेका छौँ र यो विषय अन्य विषयसँग जोडेर आउँदैन भन्ने हाम्रो विश्वास छ।”

हाल झन्डै १३ सय मेगावट विद्युतको माग भएपनि भारतबाट र निजी क्षेत्रको समेत उत्पादन समेत गरी करिब ६५० मेगावट बिजुली विद्युत प्राधिकरणले उपलब्ध गराउँदै आएको छ।