प्यारिस आक्रमण: मुख्य संदिग्धको खोजी तीब्र

  • 16 नोभेम्बर 2015
तस्वीर कपीराइट Other
Image caption प्यारिस आक्रमणका मुख्य संदिग्धका रुपमा सलेह अबदेश्लमको खोजी तीब्र पारिएको छ

शुक्रबार प्यारिसमा १२९ जना मारिनेगरी भएको इश्लामिक समूह सम्बद्ध सदस्यहरुको तीब्र खोजी जारी छ।

फ्रान्सेली प्रहरीले २६ वर्षीय सलेह अबदेश्लम लाई मुख्य संदिग्ध मानेको छ।

प्यारिस गोलीकाण्ड र बम काण्डमा संलग्न भनेर अहिले तीब्र गतिमा खोजी भइरहेको व्यक्तिलाई प्यारिस आक्रमणको केहि घन्टापछि प्रहरीले रोकेको र पछि छोडिदिएको तथ्य सार्वजनिक भएको छ।

अधिकारीहरुले बेल्जियमतर्फ गइरहेको २६ वर्षीय सलह अबदेश्लम सवार कारलाई रोकेका थिए।

दाइभाइ

उनलाई प्रश्नहरु गरिएको थियो र कागजात जाँच गरिएको थियो।

उनका एक भाइ ब्याट्याक्ल्यान कन्सर्ट हलमा मारिएको र अर्का भाइलाई बेल्जियममा गिरफ्तार गरिएको छ।

सलेहले ८९ जना मारिएको ब्याटाक्ल्यान कन्सर्ट हल जनजिकै भेटिएको भीडब्लु पोलो कार भाडामा लिएको बताइएको छ।

हवाइ कारवाही

यसैबीच फ्रान्सका युद्धविमानहरुले इश्लामिक स्टेट लडाकुहरु बहुल सिरियाको रक्का शहरमा हवाइ कारवाही गरेका छन्।

प्यारिसमा भएको घातक आक्रमणको दुइ दिनपछि यो कारवाही भएको छ।

बाह्र विमानले बीसवटा बम खसालेका थिए।

फ्रान्सेली रक्षा मन्त्रालयले निर्देशन केन्द्र, हतियार डिपो, र तालिम शिविर लगायतका थुप्रै लक्षित क्षेत्रमा प्रहार गरेको बताएको छ।

प्यारिसमा नोट्रे डाम गिर्जाघरमा शुक्रबार मारिएका १२९ जनाको प्रार्थना सभा गरिएको छ।

प्यारिसका इशाइ धर्मगुरुले प्यारिस अस्वाभाविक असभ्य आक्रमणमा परेको बताए।

तीसजना जतिको सनाखत हुन बाँकी छ र केहि परिवाहरु अझ पनि आफ्ना हराइरहेका परिवारजनको खोजी गरिरहेका छन्।