अभाव भएका औषधिबारे जानकारी माग

  • 19 नोभेम्बर 2015
Image caption स्वास्थ्य मन्त्रालयले अभाव भएका औषधिको आपूर्तिका लागि विभिन्न निकायलाई अनुरोध गरेको छ

विश्व स्वास्थ्य संगठनले नेपालमा अभाव हुन पुगेका औषधिहरुको वास्तविक अवस्था अध्ययन गर्नका लागि औषधि व्यवस्था विभागलाई आग्रह गरेको छ।

तराई केन्द्रित असन्तुष्ट दलहरुको आन्दोलन र भारतीय सीमानाकामा जारी अवरोधका कारण अत्यावश्यक औषधिको अभाव भइरहेको खबरमाझ पछिल्लो सक्रियता शुरु भएको हो।

देशमा मौज्दात समाप्त हुन लागेका अत्यावश्यक औषधि आपुर्तिका लागि सरकारले विश्व स्वास्थ्य संगठन लगायतका अन्य दातृ निकायलाइ अनुरोध गरेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

सरकारले कतिपय त्यस्ता औषधि हवाइमार्गबाट समेत ल्याउन पहल गर्ने बताउँदै आएको छ।

आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा. पदमबहादुर चन्दका अनुसार अत्यावश्यक औषधिको अभाव देखिन थालेपछि विश्व विभिन्न निकायलाइ सहयोगको आग्रह गरिएको छ।

उनले भने, “काठमाण्डू र अन्य स्वास्थ्य केन्द्रहरुमा आपतकालीन केही औषधिहरुको कमी भएपछि विश्व स्वास्थ्य संगठन, गैरआवासीय नेपाली संघ र अन्य देशहरुसँग पनि आपूर्तिबारे कुरा भइरहेको छ।”

सुरक्षा व्यवस्था कमजोर र इन्धनको पनि अभावका कारण औषधि ढुवानी गर्न नसकिएकै कारण मौज्दातमा रहेका औषधीहरुको मात्र समेत कम हुन थालेको अधिकारीहरु बताउँछन्।

औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक नारायण ढकाल भन्छन्, “कहाँ कति अभाव छ भन्नेबारे तुरुन्त आँकलन गर्न विश्व स्वास्थ्य संगठनबाट सहयोग माग भएको छ, त्यो गर्ने कुरा छ।”

संवेदनशील

उनका अनुसार नेपाल सरकारले उपलब्ध गराउँदै आएको ४ सय प्रकारका औषधिमध्ये अत्यन्तै संवेदनशील अवस्थामा रहेका बिरामीहरुमा प्रयोग हुने केही औषधिको मौज्दात एकदमै न्यून हुँदैछ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मीक कक्षमा कार्यरत डा. प्रकाश भट्टराईले जरुरी औषधिको अभाव हुन थालेपछि उपचारमा समेत समस्या भएको बताउँछन।

उनी भन्छन्, “मुटु बन्द हुँदा र अन्य खराबी देखिँदा दिइने औषधिको छैन।”

औषधि व्यवस्था विभागका महानिर्देशक डा. बालकृष्ण खकुरेलको संयोजकत्वमा गठन गरिएको औषधि र चिकित्सा उपकरणको आपूर्ति व्यवस्थापन कार्यदलले सक्दो चाँडो औषधि आपूर्ति गर्न र पूर्व तयारी गर्न स्वास्थ्य मन्त्रालयलाई सुझाव दिएको छ।