'मालीमा १३० बन्धक मुक्त'

  • 20 नोभेम्बर 2015
तस्वीर कपीराइट AFP

मालीको राजधानी बामाको स्थित एउटा होटलमा बन्धक बनाइएका एकसय तीसजना भन्दा बढीलाई मुक्त गराइएको अधिकारीहरुले जनाएका छन्।

बन्दूक तथा ग्रीनेड बोकेका बन्दूकधारीहरुले उनीहरुलाई सात घन्टा भन्दा बढी समयसम्म बन्धक बनाएका थिए।

मालीको सरकारी टेलिभिजनले अहिलेसम्म १८ वटा शव फेला परेको जनाएको छ।

बन्दूकधारीहरु अझै होटलभित्रै रहेको बताइएको छ।

जिम्मा

अल कायदासंग संबद्ध एक उग्रवादी समूहले सो हमलाको जिम्मा लिएको छ।

यसअघि राजधानी बमाकोस्थित -याडिसन ब्लू होटलमा बन्दुकधारीहरुले हमला गरेर १७० जनालाई बन्धक बनाएका थिए।

मालीको विशेष फौजले होटलमै पसेर कारवाही गरेको थियो।

सुरक्षाकर्मी र प्रहरीले उक्त होटललाई घेरेका छन् र वरपरको सडक बन्द गरेका छन्।

बन्धक

होटलका मालिकले २ जना व्यक्तिले होटलका १४० जना अतिथि र ३० जना कर्मचारीलाई बन्धक बनाएको बताएका थिए।

विदेशीहरुमाझ लोकप्रिय सो होटलमा बन्दुकधारीहरु अरबी भाषामा “ईश्वर महान छन्” भनेर चिच्याउँदै छिरेका थिए।

बन्धक बनाइएकाहरुमध्ये फ्रेन्च, टर्किश, चिनियाँ तथा भारतीय नागरिकहरु रहेको बताइएको छ।