अमेरिका जाने भन्दा छाड्ने धेरै

  • 20 नोभेम्बर 2015
Image caption अध्ययनले अधिकांश मेक्सिकनहरु स्वेच्छाले स्वदेश फर्किएको देखाएको छ

संयुक्त राज्य अमेरिकामा गरिएको एउटा नयाँ अध्ययनले अमेरिका जाने भन्दा अमेरिका छोडेर स्वदेश फर्किने मेक्सिकनहरुको संख्या बढेको देखाएको छ।

प्यु रिसर्च सेन्टरले गरेको अध्ययनले आधा शताब्दीदेखिको अमेरिका भित्रिने क्रम उल्टिएको देखाएको हो।

उक्त अध्ययन अनुसार सन २०१४ सम्मको पाँचवर्षमा दश लाखभन्दा धेरै मानिस परिवारसहित मेक्सिको फर्केका थिए, जसमा अमेरिकामै जन्मिएका बालबालिका पनि छन्।

कम

जबकी त्यस अवधिमा अमेरिका भित्रिने मेक्सिकनहरुको संख्या अमेरिका छाड्नेहरु भन्दा झण्डै १ लाख ४० हजार कम रह्यो।

अध्यननका अनुसार त्यो पाँच वर्षमा ८ लाख ७० हजार मेक्सिकनहरु अमेरिकामा बसाइँ सरेका थिए।

अमेरिकामा उत्पन्न आर्थिक मन्दीमा आएको सुधार सबैतिर उस्तै नहुनुलाई नयाँ परिस्थितिको कारक मानिएको छ।

सन् २००९ मा मन्दीबाट अमेरिका उम्किए पनि आप्रवासीहरुले काम पाउने गरेको खासगरेर निर्माणसँग सम्बन्धित उद्योगहरु तङ्ग्रीसकेका छैनन्।

स्वेच्छा

अमेरिकी राष्ट्रिपतीय चुनावी दौडको एउटा मुख्य मुद्दा सीमा सुरक्षा बनेका बेला अध्ययनले अहिलेको सीमा नियन्त्रण पनि अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने मेक्सिकनहरुको निम्ति बाधक बनेको जनाएको छ।

अमेरिकाले गैरकानुनी रुपमा प्रवेश गर्ने आप्रवासीहरुलाई उनीहरुकै देश फर्काउने कदम बढाएको छ।

तर अध्ययनले अधिकांश मेक्सिकनहरु स्वेच्छाले स्वदेश फर्किएको देखाएको छ।

पारिवारिक पुनर्मिलनलाई त्यसको एउटा मुख्य र साझा कारण तथा मेक्सिकोमै रोजगारीको अवसर पाउनुलाई अर्को कारणको रुपमा औंल्याइएको छ।