परदेशमा सेवा

  • 21 नोभेम्बर 2015

Image caption ब्रिटेनमा कार्यरत नेपाली नर्सहरुले भूकम्प लगत्तै प्रभावित जिल्लाहरुमा पुगेर सेवा पुराएका थिए (फोटो सौजन्य: प्रसुना कँडेल)

नेपालको नर्भिक तथा त्रिवि शिक्षण अस्पतालमा झण्डै १२ वर्ष काम गरेपछि बबिता लामा सन् २००४ मा उच्च शिक्षाकालागि ब्रिटेन आइन्।

शुरुमा एउटा विकासोन्मुख मुलुकबाट आएर स्वास्थ्य क्षेत्रमा संसारमै नाम कमाएको मुलुक ब्रिटेनमा काम गर्न निकै गाह्रो भएको लामाले बताइन्।

"आपत्कालिन स्थितिमा कसरी काम गर्ने, नैतिक पक्ष, मूल्य, मान्यता तथा कानुनी विषय केही थाहा नभएकाले शुरुमा काम गर्न निकै गाह्रो भयो," उनले भनिन्।

काम गर्दै सिक्दै जाने क्रममा ब्रिटेनमा अहिले सैयौं नेपाली नर्सहरुले राम्रो काम गरिरहेको जानकारहरु बताउँछन्।

नर्सिङ एण्ड मिडवाइफरी काउन्सिल युकेमा दर्ता भएपछि मात्रै काम गर्न पाइन्छ।

नर्सहरुको सेवा सुविधा पनि अन्य पेशाको भन्दा राम्रो मानिन्छ।

नेप्लीज नर्सिङ एसोसियसन युकेकी सल्लाहकार पनि रहेकी बबिता लामाले काम गाह्रो भएपनि आफुले परिवार, सामाजिक गतिविधि र कामका बीच सन्तुलन मिलाइरहेको बताइन्।

"अस्पतालहरुमा स्थिति फरक छ। तर धेरै ठाउँमा काम ग-यो भने पैसा आउँछ, नगएको दिनको आउँदैन। दुखचाहिं एकदमै दुख छ, तर दुख अनुसार पैसापनि छ," उनले भनिन्।

आकर्षण

गत केही वर्षयता नर्सिङ पेशाप्रति सम्मान र आकर्षण बढ्दै गएको पाइन्छ।

नेपालबाटै पढेका नर्सहरुले स्वदेशमै काम नपाइरहेका बेला उच्चशिक्षा प्राप्त नर्सहरुको पश्चिमा मुलुकहरुमा भने माग बढीरहेको छ।

अंग्रेजी भाषामा दक्षता भएका र अनुभव पनि भएका नर्सहरु बेलायत, अमेरिका, अष्ट्रेलियाजस्ता मुलुकहरुमा राम्रो अवसर पाउने गरेका छन्।

उच्च शिक्षा वा तालीमका क्रममा आएका नेपाली चिकित्सकहरु गएको झण्डै चालिस वर्षदेखि बेलायतमै बसेर काम गरिरहेका छन्।

तर नेपाली नर्सहरु काम गर्नै भनेर ब्रिटेन आउने क्रम चाहिं झण्डै १५ वर्षअघि मात्रै शुरु भएको बताइन्छ।

ब्रिटेनमा नर्सको रुपमा लामो समयसम्म काम गरेर पछि आफ्नै नर्सिङ होम समेत सन्चालन गरेकी टुका क्षेत्री स्याण्डवेलले सन् १९९९ देखि आफुले नेपालबाट नर्सहरु ल्याएर उनीहरुलाई प्रशिक्षण दिएको संझना गरिन्।

"नर्सिङ एउटा सेवामूलक पेशा हो। भित्रैबाट म सेवा गर्छु भन्ने भावना नहुने हो भने नर्स भएर काम गर्न सकिंदैन," उनले भनिन्।

नेपालमा खुलेका धेरैजसो कलेजहरुले नर्सहरुमा सेवा भावना जगाउने भन्दा विदेश कसरी जान सकिन्छ भन्नेतर्फ जोड दिनेगरेको पनि उनको अनुभव छ।

पहिचान

न्याशनल हेल्थ सर्भिस वा एनएचएस भनिने ब्रिटेनको स्वास्थ्य क्षेत्रमा खासगरी फिलिपिनो र दक्षिण भारतीय नर्सहरु ठूलो संख्यामा कार्यरत रहेका छन् भने झण्डै दुईहजारको संख्यामा रहेको ठानिएका नेपाली नर्सहरुले पनि आफ्नो छुट्टै पहिचान बनाएका छन्।

गएको झण्डै पैंतीस वर्षदेखि ब्रिटेनdf कार्यरत एकजना वरिष्ठ चिकित्सक डा. राघबप्रसाद धितालले ब्रिटेनमा नेपाली नर्सहरुले राम्रो इज्जत कमाएको बताए।

"मिलनसार, कानुन पालना गर्ने र आफ्नो ड्युटीप्रति सजग रहने बानीका कारण ब्रिटेनमा नेपाली नर्सहरुको छवि राम्रो छ," उनले भने।

त्यसो त बिरामीसंग प्रत्यक्ष सम्पर्कमा रहेर सेवा पुराउनु पर्ने नर्सिङ पेशा निकै चुनौतीपूर्ण पनि मानिन्छ।

अस्पताल होस् वा अपरेशन कक्ष, नर्सहरुको भूमिका महत्वपूर्ण हुन्छ।

डा. धितालका अनुसार डक्टर र नर्सहरु एउटै रथका दुई पाङ्ग्रा हुन्।

"नर्सहरुको काम बिरामीहरुको सेवासुश्रुषा गर्ने, औषधि दिने, केही समस्या देखियो भने चिकित्सकलाई जानकारी दिने हो। फ्रन्टलाइनमा त उहाँहरु नै हुनुहुन्छ," उनले भने।

नेपालको तुलनामा दक्ष नर्सहरुलाई बेलायतजस्ता विकसित मुलुकहरुमा थुप्रै सेवा सुविधा उपलब्ध हुनेगर्छ।

सेवा

नेपालमा भूकम्प जाँदा होस् वा अरु भैपरि आउँदा, ब्रिटेनस्थित नेपाली नर्सहरु अगाडि सरेर सेवा गर्ने गरेका छन्।

गत बैशाखमा भूकम्प गएको खबर सुन्नासाथ आफ्ना साथीहरु सहित सिन्धुपाल्चोक, दोलखा, रसुवा लगायतका जिल्लाहरुमा पुगेर स्वास्थ्य शिविरहरु सन्चालन गरेकी प्रसुना कँडेलले भनिन्, "नेपालीले पीडा भोगिरहेका बेला अलिकति पनि मल्हम लगाउन पाउँदा हामीहरुले आफुलाई भाग्यमानी ठानेका छौं।"

अन्य पेशामा रहेका पुरुषहरु राम्रो काम खोज्ने, भिसा थप्ने चक्करमा लागिरहँदा यहाँ रहेका नेपाली नर्सहरु चाहिं परिवार र काम संहाल्नुकासाथै सामाजिक काममा पनि अगाडि बढीरहेका देखिन्छन्।