मालीमा दश दिने संकटकाल घोषणा

  • 21 नोभेम्बर 2015
तस्वीर कपीराइट PA
Image caption घटनामा दुईजना बन्दुकधारीसहित २१ जना मारिएको मालीका राष्ट्रपतिले बताएका छन्

माली सरकारले राजधानी बामाकोस्थित एउटा होटलमा संदिग्ध इस्लामिक बन्दुकधारीबाट भएको आक्रमणपछि संकटकाल घोषणा गरेको छ।

मन्त्रिपरिषद्को आपतकालीन बैठकपछि राष्ट्रपति इब्राहिम बुबकर केयटाले शुक्रबार मध्यरातदेखि लागू हुने गरी दश दिनका निम्ति संकटकाल लगाएका हुन्।

त्यहाँ तीन दिने राष्ट्रिय शोक पनि घोषणा गरिएको छ।

संदिग्ध इस्लामिक लडाकुहरुले राजधानीस्थित र्याडिशन ब्लु होटलमा आक्रमण गरेर १७० जनालाई कैयौं घन्टा बन्धक बनाएका थिए।

भर्त्सना

विशेष फौजले होटल नियन्त्रणमा लिएर बन्धकहरुलाई मुक्त गरेको थियो।

उक्त घटना समाप्त भएको अमेरिकी अधिकारीहरुले घोषणा गरेका छन्।

मालीले बन्दुकधारीसँग कोही बन्धक नरहेको र आक्रमणकारीलाई भगाइएको जनाएको छ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्ले घृणित आक्रमण भन्दै त्यसको भर्त्सना गरेको छ।

राष्ट्रपति केयटाले घटनामा दुईजना बन्दुकधारीसहित २१ जना मारिएको बताए।

अल कायदा र उ समर्थित अल मुराबिटोनले आक्रमणको जिम्मा लिएका थिए।

प्रत्यक्षदर्शीहरुले १३ जना बन्दुकधारीहरु अरबी भाषामा ठूलो स्वरले ‘इश्वर महान छन्’ भन्दै गोली हान्दै होटलमा पसेको बताएका छन्।

सांसद मारिए

विशेष फौजले भवनमा धावा बोल्नुअघि सुरक्षा सूत्रले समाचार संस्था रोयटर्सलाई बताए अनुसार कुरानका श्लोक भन्न भ्याएका बन्धकहरु मुक्त गरिएका थिए।

मारिनेमा एक बेल्जियमका सांसद पनि छन्।

चीनको समाचार संस्था सिन्ह्वाले तीनजना चिनियाँ पनि मारिएको जनाएको छ।

अमेरिकाको विदेश विभागका अनुसार एकजना अमेरिकी पनि मारिएका छन्।

बन्धक बनाइएका कैयौं मानिसहरु घाइते अवस्थामा होटलबाट बाहिरिँदै गरेका तस्वीरहरु सार्वजनिक भएका थिए।

सम्बन्ध

अमेरिकी स्वामित्वको उक्त होटल विदेशी व्यापारी र विमान कम्पनीका कर्मचारीहरुका माझ लोकप्रिय थियो।

मालीका राष्ट्रपतिले घटनालाई नियन्त्रणमा लिन सघाएकोमा मित्र राष्ट्र र सुरक्षा फौजलाई धन्यवाद दिएका छन्।

विदामा रहेका अमेरिकी अधिकारीहरुले बन्धकको उद्धार अपरेशनमा सघाएका थिए।

फ्रान्सको विशेष फौज पनि त्यसमा संलग्न थियो।

१३० जना मानिस मारिएको एक साताअघि प्यारिसमा भएको हमलासँग उक्त घटनाको सम्बन्ध रहेको कुरा अहिलेसम्म स्थापित भइसकेको छैन।