आइएसविरुद्धको लडाईबाट पछि हट्दैनौं: ओबामा

  • 22 नोभेम्बर 2015
तस्वीर कपीराइट Reuters

अमेरिकी राष्ट्रपति बराक ओबामाले अमेरिका र उसका गठबन्धन इस्लामिक स्टेटविरुद्धको लडाईमा पछि नहट्ने बताएका छन्।

मलेसियाको राजधानी क्वालालम्पुरमा बोल्दै ओबामाले विश्वव्यापी गठबन्धनले अन्तत: विद्रोही आइएस समूहलाई विनाश गरेरै छोड्ने बताए।

उनीहरुले नियन्त्रण लिइरहेको भूभागलाई फिर्ता लिने, आर्थिक स्रोत कटौती गर्ने र आइएसका नेतालाई खोजेरै छोड्ने उनको भनाई थियो।

आह्वान

राष्ट्रपति बराक ओबामाले विद्रोही समूह इस्लामिक स्टेटले गरिरहेको विद्रोहलाई ‘केही हत्याराहरुको निर्ममता’को रुपमा व्याख्या गर्दै उनले त्यसता क्रुरताले देखाएका त्रासको शिकार नहुन सबै राष्ट्रहरुलाई आह्वान गरेका हुन्।

उनले आइएसबाट त्रसित नभइ विश्वले आफ्नो नियमित गतिविधिमा ध्यान दिइरहेको संकेत दिनुपर्ने बताए।

ओबामाले प्यारिसमा भएका जस्ता आक्रमण अमान्य हुने पनि दोहोर्याएका छन्।

यसैबीच बेल्जियमका प्रहरी फौजहरु प्यारिस हमलाका संदीग्धहरुको खोजी गरिरहेका छन्।

अधिकांश सेवाहरु दोस्रो दिन पनि बन्द गरिएको राजधानी ब्रसेल्समा प्रहरीहरुले प्यारिश आक्रमणका सदिग्धहरुको खोजीकार्यलाई तीब्र पारेका हुन्।

आन्तरिक मन्त्री जेन ज्यामबोनले अहिले ब्रसेल्समा देखिएको त्रास प्यारिस हमलामा सलह अबदेस्लामले देखाए भन्दा ठूलो भएको बताए।

खोजि भइरहेका २६ वर्षीय अब्देस्लाम फ्रेन्च नागरिक भए पनि उनी ब्रसेल्समा बस्ने गरेकाले त्यहाँ सेनाहरु गस्ती बढाएका छन्।

खोजी

प्रहरीले उनलाई हातहतियारसहित भएको खतरनाकको रुपमा व्याख्या गरेका छन्।

उनका साथीहरुका अनुसार उनी ब्रसेल्स तिरै थिए र सिरीया प्रवेश गर्न खोजिरहेका थिए।

ब्रसेल्समा आतंकवादी हमला हुने उच्च जोखिम रहेको भन्दै सुरक्षा सतर्कता बढाइएको छ।

केही दिन अघि प्यारिसमा १ सय ३० जना मानिसको ज्यान जाने गरि हमला गर्ने विद्रोही समूहको आधार उक्त शहरमा रहेको ठानिएको छ।

ब्रसेल्सको सुरक्षा स्थितिको समीक्षा भइरहेको छ र सुरक्षाका कारण हिजोदेखि बन्द भएका कतिपय सेवाहरुलाई निरन्तरता दिने कि नदिने भन्नेमा एउटा निधो साँझसम्म आउने अपेक्षा गरिएको छ।