सप्तरीमा दुईको मृत्यु, कर्फ्युका माझ प्रदर्शन

  • 22 नोभेम्बर 2015
तस्वीर कपीराइट ram sarraff
Image caption आन्दोलनका क्रममा एम्बुलेन्स र ‍औषधि बोकेका गाडीहरु पनि आक्रमणमा परेका छन्

पूर्व-पश्चिम राजमार्गको सप्तरी सडक खण्डमा गएराती प्रहरी र आन्दोलनकारीबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर दुईजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण चिमोरियाका अनुसार सप्तरीको भारदह र रुपनीमा एक-एकजनाको मृत्यु भएको हो।

घटनापछि विहान ६ बजेदेखि राजमार्गका ती खण्ड र राजविराजका केही भागमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।

तर भारदह र रुपनीमा कर्फ्यु उलंघन गर्दै आन्दोलनकारीहरुले प्रदर्शन गरिरहेका छन् भने स्थिति तनावपूर्ण बनेको देखिन्छ।

कारण

सप्तरी प्रहरीका प्रवक्ता चिमोरियाले भने, "आन्दोलनकारीले निषेधित क्षेत्रमा प्रहरी टोलीलाई घेरा हालेर ढुंगामुढा, पेट्रोल बम, धारिलो हतियार र गोली समेत प्रहार गरेपछि दोहोरो झडप भएको हो।"

तर आन्दोलनकारीहरुले शान्तिपूर्ण रुपले धर्ना दिइरहेको बेला प्रहरीले मध्यराती अचानक अश्रुग्याँस र गोली प्रहार गरेको आरोप लगाएका छन्।

प्रहरीले आन्दोलनकारी ८-९ जना र आफ्ना २५ जना घाइते भएको जनाएको छ।

घाइतेहरुको उपचार धरान र राजविराजस्थिति अस्पतालमा भइरहेको छ।

घाइतेहरु मध्ये चारजनालाई गोली लागेको बताइएको छ।

निशानामा राजमार्ग

प्रशासनले राती ९ बजेबाट राजमार्गलाई निषेधित क्षेत्र घोषणा गरेको थियो।

तर तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले 'चलु राजमार्ग, घेरु राजमार्ग' (जाउँ राजमार्ग, घेरै राजमार्ग) भन्ने नाराका साथ सप्तरीको भारदहदेखि धनुषाको ढल्केवरसम्म अवरोध गरेको थियो।

त्यसक्रममा आन्दोलनकारीहरुले ढल्केवरमा एउटा ट्रक र दुईवटा मोटरसाइकलमा आगो लगाएका छन्।

समान्यतया दिनभर मोटरसाइकल बाहेकका सवारी साधन नचल्ने पूर्व-पश्चिम राजमार्गमा राती प्रहरी सुरक्षामा सवारी साधन चल्ने गरेका थिए।