बेल्जीयममा थप पांच गिरफ्तार

  • 23 नोभेम्बर 2015
तस्वीर कपीराइट Reuters

बेल्जीयमका प्रहरीले भनेका छन्, संदिग्ध आतंकवादीहरुको खोजी गर्ने क्रममा ब्रसल्स र लीएज शहरका विभिन्न स्थानमा छापा मार्दा थप पांच जनालाई गिरफ्तार गरिएको छ।

आइतबार देखिको सुरक्षा कार्वाहीमा २१ जना लाई गिरफ्तार गरिसकिएको छ।

तर प्यारिस हमलाहरुमा सहभागी भएको ठानिएका सलह अब्देसलाम अझै पक्राउ परेका छैनन्।

बेल्जीयमको राजधानी ब्रसल्समा पसल, विद्यालय र भूमिगत रेल सेवा सम्भावित हमला हुन सक्ने चेतावनीहरुका माझ सोमबार तेस्रो दिन पनि बन्द रहेका छन्।

सेनाले सडकहरुमा गस्ती गरिरहेको छ।

प्रयास

तस्वीर कपीराइट Getty

बेल्जीयमका प्रधानमन्त्री चार्ल्स मिसेलले ब्रसल्सलाई पुरानै अवस्थामा फर्काउन हरसम्भव प्रयास भैरहेको बताएका छन्।

तर अधिकारीहरुले प्यारिसमा भएका जस्तै हमलाहरु सो शहरमा पनि हुन सक्ने आशंका व्यक्त गरिरहेका छन्।

एउटा वक्तव्य जारी गर्दै ब्रसल्सस्थित फ्रान्सेली समुदायको शिक्षा निकायले नर्सरी, प्राथमिक र माध्यमिक विद्यालयहरुमा सबै कक्षाहरु स्थगित गरिएको र विद्यार्थीहरुलाई शिक्षण संस्थाहरुमा प्रवेश नदिइने जनाएको छ।

ब्रसल्सका यातायात अधिकारीहरुले पनि शहरको भूमिगत रेल सेवाका साथै केही रुटहरुमा बससेवा पनि स्थगित गरिएको बताएका छन्।

जमीनमा चल्ने रेलसेवा भने संचालनमा छ।

असहज

तस्वीर कपीराइट Reuters

शहरमा यात्रा गर्नेहरुले शान्त रेल र खाली सडकहरु सहित असहज वातावरण रहेको बताएका छन्।

ब्रसल्सबाट निस्कने एउटा पत्रिकाले धेरै मानिसहरुले सार्वजनिक सवारी साधनहरुको प्रयोग नगरेकाले सडकहरुमा निजी सवारी साधनहरुको चाप सामान्य भन्दा दोब्बर बढेको जनाएको छ।

ब्रसल्समा युरोपेली संघको मुख्यालय रहेको र त्यहां थुप्रै गैरसरकारी संस्था तथा थिंकट्यांकहरुका साथै अन्तर्राष्ट्रिय संगठनहरुका कार्यालयहरु रहेका छन्।