नाका अवरोधः राजश्व संकलनमा गिरावट

  • 23 नोभेम्बर 2015
तस्वीर कपीराइट Ram Sarraf
Image caption सबैभन्दा बढी राजश्व संकलन गर्ने वीरगञ्ज भन्सार कार्यालय धेरै प्रभावित भएको अधिकारीहरु बताउँछन्।

भारतसँगको सीमानाकामा जारी अवरोधका कारण भन्सार राजश्व संकलनमा गत वर्ष यही अवधिको तुलानामा एक तिहाईभन्दा बढीको नोक्सानी भएको अधिकारीहरुले बताएका छन्।

आइतबार देशको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले भन्सार राजश्वसहित देशको मुख्यमुख्य क्षेत्रको राजश्व संकलनमा व्यापक गिरावट आएको समीक्षा सार्वजनिक गर्दै त्यसले देशको आर्थिक वृद्धिमा असर पार्ने चिन्ता व्यक्त गरेको छ।

सीमानाका अवरोधको मुख्य केन्द्र बनेको वीरगञ्जस्थित देशकै प्रमुख भन्सार नाका ठप्प हुनु र भारतसंग जोडिएका अन्य प्रवेशविन्दु पनि प्रभावित भएपछि चालू आर्थिक वर्षको चार महिनामा अनुमान गरेभन्दा निकै थोरै राजश्व संकलन भएको भन्सार विभागले जनाएको छ।

प्रतिकूल

भन्सार विभागका प्रवक्ता सूर्य सेढाईं भन्छन्, “साउन, भदौ, असार र कार्तिक चार महिना भन्सार विन्दुमा संकलन हुनुपर्ने राजश्व ६० अर्ब ६१ करोड २४ लाख २८ हजार थियो, जबकि हामीले ३७ अर्ब ६९ करोड ३१ लाख मात्रै अर्थात लक्ष्यको तुलनामा ६२ दशमलव ५६ प्रतिशत मात्रै संकलन गर्न सक्यौँ, गत वर्षको यही अवधिको चार महिनाको तुलनामा ३६ दशमलव २२ प्रतिशतले अहिलेसम्म राजश्व घाटामा परेको तथ्यांकले देखाउँछ।”

राष्ट्र बैंकले पनि आइतबार पछिल्लो तीन महिनाको आर्थिक समीक्षा सार्वजनिक गर्दै भन्सार लगायतका राजश्व लक्ष्य अनुसार उठ्न नसक्दा देशको आर्थिक वृद्धिमा प्रतिकूल असर परेको जनाएको छ।

समीक्षा प्रतिवेदनमा राष्ट्र बैंकले विश्व बैंकले भनेजस्तै ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य ३ दशमलव ७ प्रतिशतमा खुम्चने अनुमान गरेको छ।

सकारात्मक

तर अहिलेकै परिस्थिति कायमै रहे उक्त वृद्धि ऋणात्मक समेत हुनसक्ने चिन्ता कतिपय अधिकारीहरुमा देखिन्छ।

त्यसको छनक दिँदै राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले भने, “पुषसम्म वा त्यो भन्दा चाँडो नै समस्या समाधान गरेछौं भने पनि हामीले देख्दामा पहिलो ६ महिना आर्थिक परिसूचकहरुले सकारात्मक संकेत देखाउने छाँट छैन।”

यसरी बन्द, अवरोधले देशको समग्र अर्थतन्त्रमा नकारात्मक असर परिरहेको भएपनि पछिल्ला महिना झण्डै एक चौथाइले बढेको रेमिट्यान्सले भन्सार लगायतका राजश्वको गिरावटलाई उल्लेखनीय मात्रामा पूर्ति गर्ने अधिकारीहरुले अपेक्षा गरेका छन्।