आन्दोलन र नाका अवरोधले अर्थतन्त्र ‘शिथिल’

  • 24 नोभेम्बर 2015
तस्वीर कपीराइट bbc
Image caption भारतसंगको सीमामा अवरोध भएपछि सम्पूर्ण आपूर्ती प्रणाली अस्तव्यस्त बनेको छ

तराई आन्दोलन र भारतीय नाकामा भएका अवरोधका कारण गत तीन महिनामा देशको कूल व्यापार एक तिहाईले घटी अर्थतन्त्र शिथिल भएको सरकारले जनाएको छ।

अर्थतन्त्रको वर्तमान अवस्थाबारे श्वेतपत्र जारी गर्दै अर्थ मन्त्री विष्णु पौडेलले कूल गार्हस्थ उत्पादन जीडीपीको वृद्धि दर यसपाली २ प्रतिशतमा खुम्चने चेतावनी दिएका छन्।

तस्वीर

मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले देशको अर्थतन्त्रको यथार्थ तस्वीर प्रस्तुत गरेको भनिएको श्वेतपत्रलाई अनुमोदन गरेपछि केही बेर अघि अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले श्वेतपत्र प्रस्तुत गरेका हुन्।

त्यसमा उनले खासगरी पछिल्ला महिनामा नेपाली अर्थतन्त्रले बेहोरेको नोक्सानीबारे प्रष्ट पार्ने प्रयास गरे।

खासगरी आयात र निर्यातमा आएको संकुचनका कारण कूल व्यापार एक तिहाईले घटेको उनले बताए।

“आयात घटेका कारण व्यापार घाटा पनि केही कम त भएको छ। तर आवश्यक विकास निर्माणका वस्तुको सहज उपलब्धता नभएकोले अर्थतन्त्र शिथिल भएको छ। कूल व्यापारमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१ प्रतिशतले गिरावट आएको छ,” उनले भने।

संकुचन

भूकम्पले अघिल्लो आर्थिक वर्षको वृद्धि दर ६ बाट ३ प्रतिशतमा झारिदिएको थियो।

हालको अवस्थाले यो आर्थिक वर्ष ६ प्रतिशत हुने वृद्धि दरको अनुमान अब २ प्रतिशतमा झारिएको श्वेतपत्रमा उल्लेख छ।

“आपूर्ती प्रणालीमा भएको अवरोधले आर्थिक कृयाकलापमा गम्भीर संकुचन आएकोले कृषि र गैर कृषि दुवै क्षेत्र प्रभावित हुने भई यो आर्थिक वर्षको वृद्धि दर दुई प्रतिशतको हाराहारीमा रहने अनुमान छ,” पौडेलले बताए।

बन्द हडताल र अवरोध लम्बिंदै गएमा वृद्धि दर थप संकुचित हुने उनले बताए।

आपूर्तीमा परेको असरका कारण महंगी भने निकै बढ्न सक्ने उनले बताए।

पुनर्निर्माणमा धक्का

उनले जारी बन्द हडताल र नाकाबन्दीका कारण भूकम्प पछिको पुनर्निर्माण अभियानमा गम्भीर असर परेको भन्दै मानवीय संकट आइपर्न सक्ने समेत चेतावनी दिएका छन्।

जाडो याममा न्यानो कपडा किन्नका लागि भन्दै भूकम्प पीडितलाई दश हजार रुपियाँ अनुदान सहयोग दिने उनले बताए।

आयात घटेको अनि विदेशबाट पठाइने विप्रेषण वा रेमिटेन्स रकम बढेका कारण शोधनान्तर स्थिति तथा विदेशी मुद्राको सञ्चिति भने बढेको श्वेतपत्रमा उल्लेख छ।

श्वेतपत्रमा उनले वर्तमान स्थितिसंग जुध्ने सरकारका विभिन्न कार्यदिशाबारे समेत व्याख्या गरेका थिए। जसमा आपूर्ति व्यवस्था मिलाउने, अत्यावश्यक सेवा दिनेहरुलाई सहज इन्धन वितरण गरिने देखि लिएर व्यापार विविधिकरण तथा जलविद्युत विकासमा जोड दिने उल्लेख छ।

साथै लामो समय बाटोमा ट्रक कन्टेनर रहनु पर्दा ठूलो परिमाणमा तिर्नु पर्ने विलम्ब शुल्क मिनाहा गराउन कुटनीतिक पहल गरिने बताइएको छ।