बाटो परिवर्तन गर्न भनिएको अडियो सार्वजनिक

  • 26 नोभेम्बर 2015
तस्वीर कपीराइट epa
Image caption टर्कीले रुसी लडाकु विमान खसालेको विरोधमा मस्कोस्थित टर्कीको दूतावास अगाडि प्रदर्शन भएको छ।

टर्कीको सेनाले सिरियासँगको सीमामा मंगलबार रुसी लडाकु खसालिनुअघि बाटो परिवर्तन गर्न धेरै पटक आग्रह गरिएको श्रव्य सामाग्री सार्वजनिक गरेको छ।

तर उक्त घटनामा बाँच्न सफल रुसी लडाकु विमानका कप्तानले त्यस्तो कुनै चेतावनी नपाएको बताएका छन्।

रुसी लडाकु विमानका कप्तान कन्सन्टीन मुराख्तिनले टर्कीले भनेझैं उसको हवाई क्षेत्र उल्लंघन नभएको रुसी टेलिभिजनलाई बताएका छन्।

रुसका अनुसार विद्रोही नियन्त्रित सिरियाली क्षेत्रबाट कप्तान मुराख्तिनको उद्धार गरिएको थियो।

चेतावनी

१२ घण्टा लामो उद्धार कार्यमा विशेष फौज संलग्न थियो।

विमानका सह-चालकको शवको अवस्थाबारे स्पष्ट हुन सकेको छैन।

आगो लागेको विमानबाट प्याराशुटमार्फत झरेका सह-चालक गोली प्रहारबाट मारिएका थिए।

टर्कीले रुसी लडाकु विमान खसालिनुअघि १० पटक चेतावनी दिइएको बताएको छ।

उद्धारपछि सिरियास्थित एउटा सैन्य अखडा पुर्याइएका कप्तान मुराख्तिनले विमान उडाइरहेको क्षेत्रबारे आफूलाई राम्ररी जानकारी भएको र एक सेकेण्डका लागि पनि टर्कीको हवाई क्षेत्रमा विमान प्रवेश नगरेको बताए।

‘उक्साहट’

काममा फर्किन र अखडामै बस्न चाहेको भन्दै मुराख्तिनले सह-चालक अलिअग पेश्कोभको ‘मृत्युको मूल्य कसै न कसैले चुकाउनुपर्ने’ बताए।

रुसी विदेशमन्त्री सेर्गेइ लावरोवले घटनालाई ‘नियोजित उक्साहट’ भनेका छन्।

उनले भने, “यो नियतपूर्वक गरिएको होइन भन्नेमा हामीलाई गम्भीर शंका छ, यो धेरै मात्रामा नियोजित उक्साहटको रुपमा देखिन्छ।”

रुसले सेप्टेम्बर महिनायता सिरियाली राष्ट्रपति बशर अल असादका विपक्षीहरुविरुद्ध हवाई हमला गर्दै आएको छ।