फ्रान्समा स्मृति सभा

  • 27 नोभेम्बर 2015
राष्ट्रपति ओलाण्ड तस्वीर कपीराइट AFP
Image caption राष्ट्रपति ‌ओलांडले, उनकै शब्दमा, कट्टरपन्थीहरुको सेनालाई सिध्याउन फ्रान्सले सक्दो प्रयास गर्ने बताए

दुई हप्ता अगाडि प्यारिसमा गरिएको हमलामा ज्यान गुमाएका १३० जनाको सम्झनामा फ्रान्सले एउटा राष्ट्रिय स्मृति सभा आयोजना गरेको छ।

फ्रान्सका राष्ट्रपति फ्रान्स्वां ‌ओलांड, मृतकका आफन्त र हमलामा बाँच्न सफल व्यक्तिहरु सहित प्यारिसको मध्यमा भएको सो कार्यक्रममा करीब एकहजार जना उपस्थित भएका थिए।

कार्यक्रममा एक मिनेट मौन धारण गरिनुका साथै सबै मृतकको नाम र उमेर पढेर सुनाइएको थियो।

प्राय: मृतकहरु २० देखी ४० वर्ष बीचका थिए।

सो कार्यक्रममा बोल्दै राष्ट्रपति ‌ओलांडले, उनकै शब्दमा, कट्टरपन्थीहरुको सेनालाई सिध्याउन फ्रान्सले सक्दो प्रयास गर्ने बताए।

आफ्ना बालबालिकाहरुलाई सुरक्षित राख्न फ्रान्सले लगातार काम गर्ने छ, उनले भने।

जवाफ

आक्रमणकारीहरुले एउटा कन्सर्ट स्थल र रंगशालालाई लक्षित गरेकोमा फ्रान्सले अझ बढी संगीत र खेलकूदका कार्यक्रमहरु आयोजना गरेर त्यसको जवाफ दिने ओलांडले बताए।

कार्यक्रममा ओलांड एकमात्र वक्ता थिए।

कार्यक्रममा निम्तो गरिएका सबै जना उपस्थित भने भएनन्। यो भन्दा अगाडि पनि फ्रान्समा हमला भएका र ती हमलापछि देशलाई सुरक्षा दिन पर्याप्त कदम नचालिएको भनेर फ्रान्सेली मिडियासंग बोल्दै एकजना मृतकका परिवारजनले सो कार्यक्रमको निमन्त्रणा अस्वीकार गरेका थिए।

आक्रमणमा नौ जना व्यक्ति संलग्न रहेको मानिन्छ। ती मध्ये सात जनाको मृत्यु भइसकेको छ भने २ जना अझै फरार छन् र उनीहरुको खोजी जारी छ।