सीमा अवरोधको प्रभाव पुस्तक छपाइमा पनि

  • 29 नोभेम्बर 2015
nepal schools तस्वीर कपीराइट bbc
Image caption नयाँ शैक्षिक सत्रका लागि आवश्यक पाठ्यपुस्तक छपाइ प्रभावित भएको बताइएको छ

नेपाल भारत सीमामा अवरोध जारी रहँदा कागज र इन्धनको अभावले आगामी शैक्षिक सत्रका लागि आवश्यक पाठ्य पुस्तक छपाइ रोकिएको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ। ।

सुरुमा भूकम्प र त्यसपछि इन्धन अभावले स्कूल सञ्चालन हुन नसक्दा विद्यार्थीहरुको पढाई कैयौँ जिल्लामा अवरुद्ध भएको भन्दै चौतर्फी चिन्ता व्यक्त भैरहेका बेला छपाइको समस्या थपिएको छ।

नयाँ सत्रका लागि आवश्यक पुस्तक मध्ये एक चौथाई सन्चित रहेको बताउँदै केन्द्रले डेढ करोड पुस्तक छाप्न बाँकी रहेको बताएको छ।

यसको प्रत्यक्ष असर खासगरी फागुनबाटै शैक्षिक सत्र सुरु हुने दुर्गम कर्णाली र उच्च हिमाली भेगका सातवटा जिल्लामा पर्ने बताइएको छ।

अभाव

प्रत्येक वर्ष कक्षा १ देखि १० कक्षाका विद्यार्थीलाई चाहिने करिब २ करोड पुस्तक मध्ये अघिल्लो बर्षकै करिब ५० लाख पुस्तक जगेडा रहेको अधिकारीहरुले बताएका छन्।

पछिल्लो आपूर्ति संकटले पुस्तक समयमा उपलब्ध गराउन नसकिने अवस्था आएको बताउँदै केन्द्रका उप निर्देशक तथा प्रकाशन विभागका प्रमुख मनोहर लामिछानेले भने, "अझै डेढ करोड छाप्न बाकिँ छ। अबको साढे चार महिनामा पुस्तक छाप्नुपर्छ। यसको मुख्य असर खासगरी कर्णाली र मनाङ/मुस्ताङ जिल्लामा पर्छ।"

अघिल्लो वर्षदेखि पुस्तक छपाइ मात्र नभै वितरणको समेत जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले पाएको छ।

आग्रह

छपाइ नभए तीन महिना पछि खासगरी हिमाली भेगमा सुरु हुने नयाँ शैक्षिक सत्रसम्म पुस्तक पुर्याउन कठिन हुने देखिन्छ।

केन्द्रका उप निर्देशक मनोहर लामिछानेले भने, "पोहोर साल यतिबेला हामीले कर्णाली क्षेत्रका लागि पुस्तक पठाउन नेपालगञ्जमा पठाइसक्थ्यौं। यो पटक कतिपय पुस्तक छाप्नै बाकिँ छ। अब यो पालि हिउँदका कारण पुस्तक पुर्याउन पनि समस्या हुन्छ।"

पुस्तक समयमा छपाउन नसकेको भन्दै वर्षौंदेखि आलोचना खेपिरहेको केन्द्रले कागज,मसी र आवश्यक इन्धनको अभाव सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ।

शनिबार मात्रै भारतबाट तीन ट्रक कागज भित्रिएकोले छपाइका लागि इन्धनको जुटाइदिन शिक्षा मन्त्रालयलाई आग्रह गरिएको अधिकारीहरुले बताएका छन्।