'सीमांकनसहितका विवाद एकैपटक हल गरौं'

  • 28 नोभेम्बर 2015
morcha
Image caption संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सीमांकनमा संशोधन नभइञ्जेल आन्दोलनबाट पछि नहट्ने चेतावनी दिएको छ

तराई केन्द्रित आन्दोलनकारी पक्षसंग औपचारिक वार्ता ठप्प रहेका बेला साझा धारणा बनाउन भन्दै गृहकार्यमा जुटेका प्रमुख दलहरुबीच नै समस्या समाधानका विकल्पमा चर्को मतभेद देखिएको छ।

सत्तासीन दलहरुको उच्चस्तरीय राजनीतिक समितिका संयोजकका रुपमा सहमति जुटाउन पहल गरिरहेका एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले शनिबार प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति र प्रधानमन्त्रीसंग छुट्टाछुट्टै भेटेका थिए।

सीमांकनसहितका विवादित विषयहरुलाई राजनीतिक सहमतिका आधारमा एकैपटक 'प्याकेज'मा हल गर्ने प्रचण्डको प्रस्तावप्रति मूलरुपमा असहमत देखिने कांग्रेस आफू नेतृत्वको सरकारले अघि सारेको संविधान संशोधनको प्रस्ताव तत्काल अघि बढाउनुपर्ने अडानमा देखिन्छ।

तनाव

वर्तमान सरकारको नेतृत्वकर्ता एमालेसमेत सम्मिलित कांग्रेस नेतृत्वको पूर्ववर्ती सरकारले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण र समानुपातिक समावेशी व्यवस्था राख्नेसम्बन्धमा संविधान संशोधन प्रक्रियाअघि बढाएको थियो।

दोस्रो संविधानसभा निर्वाचनपछिको सहयात्रा प्रधानमन्त्री निर्वाचनसंगै तोडिएपछि पूर्ववर्ती सरकारले ल्याएको संशोधन प्रस्ताव अघि बढाउने मनस्थितिमा एमाले, एकीकृत माओवादीसहितका सत्तासीन दलहरु देखिदैंनन् जसका कारण कांग्रेस रुष्ट छ।

आफूलाई शनिबार भेट्न पुगेका एकीकृत माओवादीका अध्यक्ष प्रचण्डसंग कांग्रेस सभापति सुशील कोइरालाले अड्किएको संशोधन प्रस्ताव अघि बढाउन आग्रह गरेको बताइएको छ।

प्रचण्डका निकटवर्ती एवम् एकीकृत माओवादीका केन्द्रीय सदस्य चूडामणि खड्काले भने, “पार्टी अध्यक्षले सीमांकनसहित अन्य मुद्दा प्याकेजमा हल गर्ने प्रस्ताव राख्दा कांग्रेस सभापतिले पहिले आफूहरुले ल्याएको दुईवटा संशोधन प्रस्ताव अघि बढाऔं भन्नुभयो”।

उक्त अडानसम्बन्धमा कांग्रेस सभापति कोइरालाका सहयोगीहरुले पनि पुष्टि गर्दै उनले अड्किएको संविधान संशोधन प्रस्ताव अघि बढे तराई तनाव हल हुने धारणा राखेको बताइएको छ।

प्रस्ताव

केही साताको अमेरिका बसाइपछि स्वदेश फर्किएको भोलिपल्टै शुक्रबार कोइरालाले आन्दोलनकारी पक्षका केही प्रमुख नेताहरुसंग भेटेका थिए।

आन्दोलनकारी पक्षले भने कांग्रेस नेतृत्वको सरकारले संशोधन प्रस्ताव ल्याउंदा आफूहरुसंग सल्लाह नगरिएको भन्दै त्यसमाथि थप छलफलको माग गर्दै आएको छ।

त्यसको विपरित आन्दोलकारी मोर्चा सीमांकनसहितको मुद्दामा एकैपटक प्याकेजमा हल खोज्ने प्रचण्डका प्रस्तावप्रति सकरात्मक रहेको बताइन्छ।

उक्त प्रस्तावमा के छ त? एकीकृत माओवादीका केन्द्रीय सदस्य चूडामणि खड्काले भने, “नवलपरासीदेखि बांके, बर्दियासम्म प्रदेश बनाउने र कैलाली लगायतका विवादित जिल्ला संघीय आयोगबाट टुंग्याउने प्रस्ताव प्रचण्डले राख्नुभएको छ”।

प्रचण्डको प्रस्तावप्रति सत्तारुढ प्रमुख सहयात्री एमालेका कैयौं नेताहरु नै सकारात्मक नरहेको बताइन्छ।

ती विवरणमाझ प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई मनाउने प्रयासमा शनिबार नै भेटेको दुवै पक्षका नेताहरुले बताएका छन्।