टर्कीमा कुर्द समर्थक वकिलको गोली हानी हत्या

  • 28 नोभेम्बर 2015
तस्वीर कपीराइट Reuters

दक्षिणपूर्वी टर्कीमा कुर्द समर्थक एकजना वरिष्ठ वकिलको गोली हानी हत्या गरिएको छ।

प्रत्यक्षदर्शीहरुका अनुसार टर्किस सुरक्षा फौज र कुर्द पृथकतावादी बीच शान्ति कायम हुनुपर्ने धारणा राखिरहेका बेला कानुन व्यवसायी ताहिर इल्जीको हत्या गरिएको हो।

त्यसै बेला भएको गोली हानाहानमा उनलाई टाउकोमा गोली लागेको र एकजना प्रहरी पनि मारिएको जनाइएको छ।

धारणा

गोली हानाहान भएका वेला एल्जीले टर्किस सरकार र विद्रोही कुर्द पिकेकेबीच हालै हिंसा भएको दियारबकीर शहरमा आफ्नो धारणा राखिरहेका थिए।

बीबीसीका टर्की सम्वाददाता मार्क लवेनका अनुसार मृत्यु हुनु केही समय अघि उनले शान्तिको पक्षमा धारणा राखेका थिए।

त्यसक्रममा उनले हामीलाई यहाँ बन्दुकको झडप र सुरक्षा कारवाही चाहिएको छैन भनेका थिए।

त्यसलगत्तै गोली हानाहान भयो जुन क्रममा टाउकोमा गोली लागेपछि उनले ज्यान गुमाए।

कुर्दहरुको अधिकारको पक्षमा वकालत गर्ने सबैभन्दा वरिष्ठ कानुन व्यवसायी रहेका ताहिर एल्जीले हालै पिकेकेलाई आतंकवादी सगंठन भन्न नहुने धारणा राखेका थिए।

त्यसपछि उनलाई जेलमा थुनिएको थियो र अभियोजकहरुले आतंकवादको पक्षपोषण गरेकोमा उनलाई सात वर्ष थुनामा राखिनुपर्ने माग गरेका थिए।

उक्त धारणा राखेपछि उनलाई ज्यान मार्ने धम्कीसमेत आएको थियो।

विगत

दियारबकिर बार एशोसियसनका अध्यक्षसमेत रहेका उनी एकजना नाम चलेका वकिल र मानवअधिकारकर्मीको रुपमा चिनिन्थे।

कुर्द समूह पिकेके र टर्की सरकार बीच गएको जुलाई महिनामा पुन: द्वन्द्व शुरु भए यता दर्जनौँको ज्यान गइसकेको छ।

दुवै पक्षलाई शान्तिमा फर्कन माग गर्दै आएका एल्जी मारिएपछि आसपासका क्षेत्रमा कर्फ्यु लगाइएको छ।

इस्तान्बुल शहरमा उनको हत्याको विरोध गरिरहेका सैयौं मानिसहरुलाई तितरबितर पार्न प्रहरीले पानीको फोहरा र अश्रुग्याँस प्रहार गरेका थिए।

बीबीसीका संवाददाता भन्छन्, पछिल्लो गोलीकान्डले टर्कीको द्वन्द्वको अँध्यारो विगत पुन: झल्झली सम्झाएको छ।