'आगोसँग नखेल्न' रुसलाई टर्कीको चेतावनी

  • 28 नोभेम्बर 2015
तस्वीर कपीराइट
Image caption पुटिनसँग भेटेर समस्या समाधान गर्ने एर्दोआनको अनुरोध अस्वीकार गर्दै रुसले पहिले क्षमा माग्न भनेको छ

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोआनले आफ्नो देशले खसालेको रुसी जेट सम्बन्धमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई 'आगोसँग नखेल्न' चेतावनी दिएका छन्।

यो समस्या सुल्झाउन पेरिसमा हुने जलवायु शिखर सम्मेलनका बेला पुटिनसँग प्रत्यक्ष भेटघाट गर्न चाहेको उनले बताएका छन्।

तर रुसी राष्ट्रपतिका सहयोगीले एर्दोआनसँग कुराकानी गर्नु अघि टर्कीले क्षमा माग्नुपर्ने पुटिनले चाहेको बताएका छन्।

प्रतिकारमा रुसले टर्कीलाई उपलब्ध गराउँदै आएको प्रवेशाज्ञा नलाग्ने व्यवस्था स्थगित गरेको छ।

तनाव

टर्कीले गत मंगलबार विमान झार्ने निर्णय लिनु अघि उक्त युद्ध विमान टर्कीको आकाशमा रहेको बताउँछ तर रुसले विमान सिरियामै उडिरहेकोमा जोड दिन्छ।

सिरियामा दुइ पक्षले दुइथरी कुरालाई अगाडि बढाइरहेकाले पनि तनाव बढ्दै गएको छ।

रुसले सिरियाका राष्ट्रपति बशर अल असदका विपक्षीहरुमाथि हवाई कारवाही गरिरहेको छ।

जबकी टर्की सदस्य रहेको अमेरिकी नेतृत्वको गठबन्धन सिरिया समस्याको कुनै पनि राजनीतिक समाधान खोजिनुअघि असद हट्नुपर्ने अडान राख्छ।

एकबद्ध

तर तथाकथित इश्लामिक स्टेट समाप्त पार्ने विषयमा भने सबै एकबद्ध छन्।

यस अघि टर्कीको सेनाले रुसी जेटले टर्कीको आकाशमा सत्र सेकेन्ड विताएको भन्दै उक्त विमान खसाल्नु अघि दिएको श्रृंखलाबद्ध चेतावनी सार्वजनिक गरेको थियो।

नेटोमा संगठित टर्कीका पश्चिमा समर्थकहरुले एकोंराको समर्थन त गरेका छन् तर सत्र सेकेण्ड आकाशमा आउनु मात्रै विमान झार्नुको कारक हुन सक्छ कि सक्दैन भन्ने प्रश्न गरेका छन्।

रुसले विहिबार टर्की विरुद्ध खाद्यान्न लगायत विभिन्न बस्तुको सूचि सहित आर्थिक नाकाबन्दी लगाउने मस्यौदा तयार भइरहेको बताएको थियो।

रुस र टर्कीबीच महत्वपूर्ण आर्थिक सम्बन्ध रहँदै आएको छ।

रुस टर्कीको दोश्रो ठूलो व्यापार साझेदार हो र गत वर्ष मात्रै तीस लाख भन्दा बढि रुसी पर्यटकले टर्की भ्रमण गरेका थिए।