'जलवायु सम्मेलन महत्वपूर्ण घुम्ती हुनसक्ने'

  • 30 नोभेम्बर 2015
तस्वीर कपीराइट Reuters

फ्रान्सको पेरिसमा सोमबार शुरु भएको राष्ट्रसंघीय जलवायु सम्मेलन एक महत्वपूर्ण घुम्ती हुनसक्ने र आगामी कार्यभारबारे तदारुकताको आवश्यकता बोध भएको राष्ट्रपति ओबामाले जनाएका छन्।

विश्वव्यापी तापमान वृद्धिमा सहायक मानिने हरितगृह ग्यासको दोस्रो ठूलो उत्सर्जक राष्ट्रको रुपमा अमेरिकाले समस्या सिर्जनामा र त्यसको समाधानमा आफ्नो भूमिका बुझेको उनले बताए।

पहिलो ठूलो उत्सर्जक राष्ट्र चीनका राष्ट्रपति सी जिनपिंगले कुनै पनि सन्धिले गरीब राष्ट्रहरुका निम्ति सहायताको मुद्दा समेट्नुपर्ने बताए।

रुपरेखा

विश्वव्यापी कार्बन उत्सर्जनको मात्रा घटाइ संसारको औसत तापमान वृद्धिलाई दुई डिग्री सेल्सियसको सीमाभित्र राख्ने प्रयासमा १९५ देशका प्रतिनिधिहरु पेरिसको दुई हप्ते सम्मेलनमा लागिपर्ने छन्।

कोप २१ भनेर चिनिएको उक्त सम्मेलनलाई १४७ देशका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ।

तर विश्वका सबैभन्दा गरीब देशहरुले सन्धि गर्ने दौडमा आफुहरुलाई पछाडि छाडिने त्रास पनि व्यक्त गरेका छन्।

राष्ट्रपति ओबामाले अन्य कुनैपनि मुद्दाभन्दा जलवायु परिवर्तनको मुद्दाले वर्तमान शताब्दीको रुपरेखा कोर्ने बताए।

उनले भने, 'हामीलाई के ले आशा प्रदान गर्नुपर्छ भने यो एउटा महत्वपूर्ण घुम्ती हो। यही समय हो जब हामीले हाम्रो ग्रहलाई बचाउने निश्चय गर्नुपर्छ। राष्ट्रहरुले यस समस्या समाधानप्रति देखाएका तदारुकता अनि यसबारे केही गर्न सकिन्छ भन्ने धारणाले त्यस्तो आशा प्रदान गर्छ।'

विभिन्न देशका राष्ट्रपति तथा प्रधानमन्त्रीहरुले सम्मेलनमा सम्बोधन गर्दैछन्।

उनीहरु सम्मेलनको एक दिन मात्र उपस्थित हुने बताइएको छ।

उनीहरुले केही महत्वपूर्ण घोषणा गर्नेपनि ठानिएको छ।

चिन्ता

'मिसन इन्नोभेसन' भनिएको एक योजना अन्तर्गत अमेरिका, फ्रान्स तथा भारत सहितका २० देशले आगामी पाँच वर्षमा नवीकरणीय उर्जाका क्षेत्रमा आफ्ना लगानी दोब्बर पार्ने घोषणा गर्नेछन्।

त्यस्तै बील गेट्स तथा फेसबुकका संस्थापक मार्क जुकर्बर्गजस्ता निजी अग्रणी उद्यमीहरुले सन् २०२० बाट थोरै खर्च लाग्ने सफा उर्जाका परियोजनामा लगानी गर्नेछन्।

यसैबीच विश्वबैंकसंगको सहकार्यमा कतिपय युरोपेली देशहरुले विकासोन्मुख देशहरुलाई कार्बन उत्सर्जन कटौतीमा मद्दत गर्ने हेतुले आधा अर्ब अमेरिकी डलरको कोष खडा गर्ने घोषणा गरेका छन्।

यी उत्साहजनक घोषणाका माझ पनि गरीब देशहरु भने चिन्तित छन्।

मुख्य वार्ता विश्वव्यापी तापमान वृद्धिलाई २ डिग्री सेल्सियसमा सीमित गर्नेप्रति लक्षित छन्।

जबकि ४८ अतिकम विकसित मुलुकहरुले डेढ डिग्री सेल्सियसभन्दा माथिको वृद्धि आफ्ना लागि विनाशकारी हुने भनेका छन्।