द्रुत प्रक्रियाबाट औषधि किन्ने तयारी

  • 30 नोभेम्बर 2015
तस्वीर कपीराइट BBC Nepali Umid
Image caption मौज्दातको औषधि पनि इन्धन अभाव र बन्दले अस्पतालहरुमा पठाउन अप्ठेरो परेको बताइएको छ

धौलागिरि र गण्डकी अञ्चल सहित पश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चलका कतिपय जिल्ला अस्पतालमा अत्यावश्यक औषधिको अभाव देखिन थालेपछि स्वास्थ्य मन्त्रालयले द्रुत प्रक्रियाबाट खरीद गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ।

अत्यावश्यक औषधिहरु तत्कालै ल्याउने जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने उक्त प्रस्ताव आइतबार मन्त्रिपरिषदको कार्यालयमा पठाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताए।

आफ्नो प्रस्ताव पारित भए छोटो प्रक्रियाबाट अत्यावश्यक औषधि खरिद गर्न थालिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रभावित

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने, "मन्त्रिपरिषदले निर्णय गरेपछि सकेसम्म ५ वा ७ दिनको सूचना निकाल्छौं। कम मूल्यमा आपूर्ति गर्ने प्रस्ताव हाल्ने कम्पनीसँग तत्काल सम्झौता गरेपछि उसले छोटो समयमै औषधि ल्याउनु पर्छ।"

स्वास्थ्य मन्त्रालयले देशभरका सरकारी अस्पतालमा सयभन्दा बढी प्रकारका औषधि नि: शुल्क वितरण गर्ने गर्दछ।

तर अहिले भएका औषधिहरु इन्धन अभावका कारण ढुवानी हुन नसकिरहेको र कतिपय अस्पतालहरुमा अत्यावश्यक औषधिहरुको अभावले उपचार समेत प्रभावित भैरहेको बताइन्छ।

विस्तारै औषधि अभावले जिल्ला अस्पतालहरुमा पनि समस्या देखिन थालेको चिकित्सकहरु बताउँछन्।

वार्ता

पोखरास्थित पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका डा. बसन्त ताम्राकारले भने, "सघन उपचार कक्षमा उच्च रक्तचाप र हृदयाघात लगायतका आवश्यक औषधिहरु झण्डै सकिएको छ। धेरै औषधिहरु किन्न पनि पाइँदैन। कति दिन चलाउन सकिन्छ भन्न गाहो छ।"

स्वास्थ मन्त्रालयले औषधि ढुवानीकानिम्ति आवश्यक इन्धन उपलब्ध गराउन सोमबार नै वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग वार्ता गर्ने बताएको छ।

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विराटनगर नाकाबाट औषधि बोकेका सवारी साधनलाई प्रवेश गर्न दिने बताएपनि मोर्चाका कार्यकर्ताहरुले बाटोमा अवरोध गरेपछि ढुवानी हुन नसकिरहेको व्यवसायीहरुले बताएका छन्।