विद्रोहीद्वारा १६ लेबननी सुरक्षाकर्मी मुक्त

  • 1 डिसेम्बर 2015

अल कायदासंग आवद्ध सिरियाली समूहले झण्डै डेढ वर्षसम्म आफ्नो कब्जामा रहेका १६ जना लेबननी सुरक्षाकर्मीलाई मुक्त गरिदिएको छ।

लेबननले त्यसको बदलामा, आफ्नो हिरासतमा रहेका १३ जना इस्लामवादीलाई मुक्त गरिदिएको छ।

सिरियाली इस्लामवादी विद्रोही समूह नुसरा फ्रन्टले बन्दी आदानप्रदानसम्बन्धी एउटा सम्झौता अन्तर्गत ती सुरक्षाकर्मीलाई रिहा गरेको हो।

उत्तरपूर्वी सीमा शहर आर्सालमा बन्दीहरुको आदान प्रदान भएको थियो।

तस्वीर कपीराइट AFP Getty
Image caption १६ महिना लामो कठिन प्रयासपछि रिहाइ सम्भव भएको थियो

कतारको मध्यस्थततामा भएको भनिएको उक्त सम्झौता अन्तर्गत १३ जना इस्लामवादी बन्दीलाई लेबननले मुक्त गरेको छ।

बीबीसी संवाददाता जिम मियुर भन्छन्, "महिनौंको वार्ता र मध्यस्थतताले अन्तत: फल दिएको छ। सुरुमा नुसरा फ्रन्टले मारिदिएका एक जना लेबननी सैनिकको अवशेष रेडक्रसलाई बुझाइएको थियो"।

"त्यसपछि बुर्का लगाएकी सजा अल डुलाइमी जो इस्लामिक स्टेटका नेता अबु बक्र अल बग्दादीकी पूर्व पत्नी हुन् उनलाई र उनका छोराछोरीलाई, कालो कपडाले मुख बांधेका नुसरा लडाकुलाई बुझाइएको थियो। अन्तत: १६ जना लेबननी सैनिक र प्रहरी रेडक्रसलाई बुझाइयो"।

मुक्त भएका १६ जनासंगै बन्धक रहेका चार जनालाई भने लेबननमाथि दबाब दिनका लागि विद्रोहीहरुले मारिदिएका थिए।

त्यसपछि सुरक्षाकर्मीका आफन्तहरुले उनीहरुको मुक्तिका लागि निरन्तर धर्ना र प्रदर्शन गर्दै आएका थिए।

उनीहरुको मुक्तिका लागि भएका कठीन वार्ताहरु र त्यसको सफलताले त्यस क्षेत्रका अन्य जटील समस्या पनि संवादबाटै हल हुन सक्ने आशा जगाएको विश्लेषकहरुले बताएका छन्।