‘म सबैदेखि टाढिएकी थिएँ’

  • 3 डिसेम्बर 2015
Image caption मानसिक रोगलाई विश्वभर नकारात्मक रुपमा हेर्ने गरिएको कतिपय मनोचिकित्सकहरु बताउँछन।

विद्यालय तहको अध्ययन गरिरहेकै बेला मानसिक समस्याका कारण इला इंग्राम अस्पताल भर्ना हुनुपरेको थियो।

‘बीबीसी हण्ड्रेड वुमिन २०१५’ मा सहभागी महिलाहरुमध्ये उनी एक हुन।

एउटा खाली र अँध्यारो रंगमञ्च रहेको कोठामा रोइरहेको भेटिएपछि इलाले आफ्ना शिक्षकहरुलाई भनेकी थिइन्, “म आत्महत्या गर्न चाहन्छु, म केहि गर्न चाहन्छु।”

१२ कक्षामा उक्लेकी मात्र थिइन्, १७ वर्षको उनको उमेर थियो, त्यतिखेर ग्रीष्मयामको विदाका बेला उनले विसन्चो महसुस गर्न थालेकी थिइन।

सहयोगी

अहिले उनी २१ वर्षकी छन्।

त्यस बेलाको संझना गर्दै उनले भनिन, “म सबैदेखि निकै टाढिएको महसुस गर्थेँ।”

विद्यालयको नयाँ वर्षको शुरुको त्यो दिन इलाका शिक्षकहरुले उनकी आमालाई फोन गरेर बोलाए।

इलालाई अस्पताल भर्ना गर्न भनियो।

इलाले भनिन, “म त्यहाँ दुइ हप्ता रहेँ तर त्यो समय मेरो समस्यासँग जुझ्न निकै सहयोगी रहयो।”

अष्ट्रेलियामा सन् २०१४ मा गरिएको राष्ट्रिय सर्वेक्षणले १६ देखि १७ वर्षको उमेरका प्रत्येक ५ जनामध्ये एकजना किशोरी एक किसिमको मानसिक समस्याबाट ग्रस्त रहेको, ६ मध्ये एकजनाले आफैलाई हानी हुने काम गर्ने गरेको र २० जनामध्ये एकजनाले आत्महत्याको प्रयास गर्ने गरेको देखाएको थियो।

इलाको अनुभव चाहिँ युवाहरुलाई हुने मानसिक निराशाको विश्वव्यापी कथा हो, खासगरी महिलाहरुको।

मानसिक अवसाद

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको युवा स्वास्थ्यसम्बन्धी प्रतिवेदन अनुसार युवा अवस्थामा आइलाग्ने अपाङ्गताको मुख्य कारण बनेको छ मानसिक अवसाद।

किशोरावस्थामा बच्चा जन्माउने र गर्भवती भएका कारण मृत्यु हुने संख्याभन्दा ठूलो छ आत्महत्याका कारण मृत्यु हुने किशोरीहरुको संख्या।

महिलाबारे अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र इन्टरनेशनल सेन्टर फर रिसर्च अन वुमिनकी वरिष्ठ डाक्टर सुजान पेट्रोनी भन्छिन्, मातृ मृत्युदरमा कमी हुनुको श्रेय प्रसुति स्वास्थ्य र विश्वव्यापी यौनशिक्षामा भएको सुधारलाई दिनुपर्छ।

तर बढ्दो मानसिक उदासी र आत्महत्याको कारण एउटा मात्र हुन सक्दैन।

यद्यपि युवाहरुमा आत्महत्या र निराशा बढ्ने कारकका रुपमा विश्वव्यापी सामाजिक र आर्थिक प्रतिकूलतालाई मान्ने गरिएको छ।

अमेरिका जस्तो धनी मुलुकमा समेत सामाजिक र आर्थिक रुपमा सीमान्तकृत युवाहरुमा आत्महत्या र मानसिक उदासी तुलनात्मक रुपमा निकै बढि देखिन्छ।

सन् २०१३ मा डेथ स्टडिज जर्नलमा प्रकाशित एउटा अध्ययनले ७ देखि कक्षा १२ का १२ देखि १८ वर्ष उमेरका युरोपेली-अमेरिकीहरुको तुलनामा अफ्रिकी-अमेरिकी र एसियाली-अमेरिकीहरुमा आत्महत्याको प्रयास गर्ने र आत्मघाती सोचको मात्रा बढी हुने गरेको देखाएको थियो।

दक्षिण-पूर्वी एसियामा प्रत्येक ६ जना किशोरीमध्ये एकजनाको मृत्युको कारण आत्महत्या हुने गरेको छ।

‘आत्मघाती सोच’

दक्षिण भारतस्थित पोण्डीचेरीमा समाजशास्त्रकी विद्यार्थी २३ वर्षीया श्रुति (वास्तविक नाम होइन) भन्छिन, दिल्लीमा बसिरहेको बेला परिवारसँग झगडा परेपछि उनमा आत्मघाती सोच पलाएको थियो।

उनले भनिन, “म प्रायः आफ्नो अपार्टमेन्टको कौसीमा जान्थेँ र तलको खालीपन नियाल्थेँ, एकदिन जब आफैलाई हानी पुर्याउने तीव्र भावना जागृत भयो तब मैले महसुस गरेँ मेरो दिमागमा गम्भीर गडबडी उत्पन्न भएको छ।”

श्रुति भन्छिन, भारतीय समाजमा मानसिक स्वास्थ्यको खासै वास्ता गरिन्न।

उनी थप्छिन, “मस्तिष्क अस्वस्थ्य हुनुलाई हेयको दृष्टिले हेरिन्छ, मैले विशेषज्ञको सहायता लिनुपर्छ भन्ने ठम्याउन निकै समय लाग्यो।”

श्रुतिलाई लाग्छ भारतमा विद्यमान सामूहिक अन्तरव्यवस्थाका कारण भावनात्मक कुरामा परिवारबाहिर गएर सहायता लिनुलाई लाजको विषय मानिन्छ।

‘लाज हटाउँदै’

तस्वीर कपीराइट PA
Image caption दक्षिण-पूर्वी एसियामा प्रत्येक ६ जना किशोरीमध्ये एकजनाको मृत्युको कारण आत्महत्या हुने गरेको छ।

बेंगलोरमा किशोरहरुलाई परामर्श दिने काम गर्दै आएकी मौलिका शर्मा भन्छिन, मानसिक रोगलाई विश्वभर नकारात्मक रुपमा हेरिन्छ तर त्यो भावना पश्चिमा मुलुकहरुभन्दा भारतमा अझ बढी छ।

उनले भनिन, “मागी विवाह एवम् परिवारको इज्जत प्रतिष्ठा ढाकछोप गर्नुसँग धेरैकुरा जोडिएको हुन्छ, यदि युवाहरुलाई कुनै किसिमको मानसिक रोग छ भने परिवारले त्यसलाई लुकाउन चाहन्छ ताकि बिहे हुन सकोस् र जोडी भेटाउन सकून्, साथै परिवारको छवि महत्वपूर्ण हुन्छ र किनभने कुनै प्रकारको मानसिक रोगलाई कालो धब्बाको रुपमा हेरिन्छ।”

नयाँ दिल्लीस्थित एकजना मनोचिकित्सक गार्गी सान्दिल्या भारतमा मानसिक रोगलाई लिएर लाज मान्नुपर्ने अवस्था रहेकोमा सहमत छन् तर उनी भन्छिन्, चेतना र उपचार बढ्दो मात्रामा छ।

उनी भन्छिन, “निराशा बढिरहेको बेला मानसिक स्वास्थ्यबारे जनचेतना पनि बढ्दो छ खासगरी भारतका ठूला शहरहरुमा।”

मनोवैज्ञानिक विषयहरुमा सहायता खोज्न सघाउन र मानसिक रोगलाई लुकाउने कुरा कम गर्न धेरै गैरसरकारी संस्था र सामाजिक कार्यकर्ताहरु काम गरिरहेका छन्।

विश्वको एउटा मुलुक जमइकाले यसै वर्षको शुरुतिर बाल तथा युवा मानसिक स्वास्थ्य सचेतना दिवसको शुरुवात गरेको थियो।

मानसिक निराशाबाट पीडित युवाहरुको संख्याले यो सानो टापु मुलुक प्रभावित भएको छ।

दुई साताभित्र एउटै क्षेत्रका तीनजना किशोरीहरुले आत्महत्या गरेपछि त्यहाँको स्वास्थ्य मन्त्रालयले त्यसबारे अध्ययन गर्नुपर्यो।

सन् २०१२ मा गरिएको सर्वेक्षणले जमइकामा उच्च माध्यमिक तहका २० प्रतिशत विद्यार्थीहरु आत्महत्याको जोखिममा रहेको देखाएको थियो।

धेरै महिलाहरुले आत्मघाती सोच राखेको र आत्महत्या गर्ने प्रयास गरेको देखिएको थियो भने धेरै पुरुषहरुले आत्महत्या गरेकै देखिएको थियो।

'प्रकट गर'

Image caption मानसिक निराशाबाट पीडित युवाहरुको संख्याले सानो टापु मुलुक जमइका प्रभावित भएको छ।

इमप्रेज गोल्डिङ्ग टेलिभिजनमा काम गर्ने युवती हुन्।

उनी भन्छिन, “हामी मानसिक उदासीबारे खासै कुरा गर्दैनौं किनभने यो युवाहरुसँग जोडिएको कुरा हो जमाइकामा।”

उनको कार्यक्रम टकअप युथमा जमइकाका युवाहरुले आफ्ना पीडा र मुक्तिका कथा सुनाउँछन्।

उनी भन्छिन्, “आमाबुवाहरुले वास्ता नगरेपछि धेरै युवाहरुले आफैलाई घाइते बनाउने, निराश हुने र आत्मघाती सोचको समस्या झेल्नुपरेको छ।”

२० वर्षीय टेर्रीले टकअप युथमा आफ्नो भोगाइबारे भनिन्, “म आफ्नो जीवन अन्त्य गर्न चाहन्थेँ, पहिले मैले आफ्नो नाडी काट्ने निधो गरेँ तर भित्रसम्म काट्न सकिन, मेरै गल्लीको अर्को भेगमा एकजना केटी झुण्डिएको मैले सुनेँ र त्यसो गर्नु संभवत सबैभन्दा उपयुक्त होला भन्ने मलाई लाग्यो।”

अष्ट्रेलियाकी इलालाई लाग्छ मानसिक निराशा भएका धेरैले उनको अनुभवबाट सिक्न सक्छन् र चेतना बढाउने भूमिका खेल्न सक्छन्।

उनले भनिन्, “मैले यसबारेको नकारात्मक भावना पनि रोक्न चाहन्छु यो मेरो जीवनको अर्को लक्ष्य हो।”

उनी भन्छिन, मेरोमाथि खैरो बादल छ भन्ने सोच अहिले ममा छैन तर लाखौं युवा महिला र केटीहरुमा त्यस्तो भावना छ र उनीहरुले आत्महत्याद्वारा जीवन अन्त्य गर्ने जोखिम छ।